बैंकिङ क
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई नियन्त्रणमा लिएको विषयमा बैंकिङ क्षेत्रका चार प्रमुख संगठनहरूले संयुक्त रूपमा ध्यानाकर्षण जनाएका छन् ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ तथा नेपाल लघुवित्त बैंकर्स संघले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पाण्डेलाई थुनाबाहिर राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् ।
संयुक्त विज्ञप्तिमा ‘सुन अनि थुन’को सिद्धान्त आत्मसात् गर्नुपर्ने उल्लेख गर्दै सीईओ पाण्डेको पदको गरिमा र बैंकिङ क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरू ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ तथा नेपाल राष्ट्र बैंकबाट जारी नीति तथा निर्देशनअनुसार सञ्चालन हुँदै आएको उल्लेख गरिएको छ । साथै ऐनको दफा ५७ अनुसार बैंकहरूलाई कर्जा असुलीका लागि विशेष अधिकार प्रदान गरिएको र उक्त प्रक्रिया प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीभित्र पर्ने जनाइएको छ ।
बैंकिङ क्षेत्रका संस्थाहरूले कर्जा असुलीसँग सम्बन्धित विषयमा बैंकका सीईओलाई पक्राउ गर्दा बैंकको साखमा नकारात्मक असर पर्ने तथा वित्तीय क्षेत्रको स्थायित्व र सर्वसाधारणको विश्वासमा समेत असर पुग्नसक्ने चिन्ता व्यक्त गरेका छन् ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्