काठमाडौं, जेठ १ । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अन्य भूभागमा पनि आंशिक बदली देखिएको छ। बागमती र गण्डकीका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने सम्भावना छ। ती प्रदेशका केही स्थानमा तथा अन्य पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
यस्तै, रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली कायम रहनेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा समेत हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले चट्याङ र वर्षाका कारण दैनिक जनजीवन तथा यात्रा प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्