काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहले संसदीय अभ्यास र लोकतान्त्रिक संस्कृतिको सम्मान गर्न नसकेको आरोप लगाउँदै नैतिक जिम्मेवारीका आधारमा पदबाट हट्न सुझाव दिएका छन्।
साम्पाङले शुक्रबार जारी गरेको वक्तव्यमा प्रधानमन्त्री शाहको कार्यशैलीले संसद र जनमत दुवैको अवमूल्यन गरेको दाबी गरेका छन्। उनले प्रधानमन्त्रीको व्यवहारले संसदीय इतिहासमै नकारात्मक सन्देश दिएको टिप्पणी गर्दै जनप्रतिनिधिमूलक संस्थाप्रति गैरजिम्मेवार प्रवृत्ति देखिएको आरोप लगाए।
उनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक र राजनीतिक दायित्वबाट टाढिएको उल्लेख गर्दै जनताका सवालको सामना गर्न नसक्ने नेतृत्वले लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन्।
साम्पाङका अनुसार प्रधानमन्त्रीले संसदको गरिमा कायम राख्न नसकेको, नीति तथा कार्यक्रममाथिको छलफलमा बेवास्ता गरेको तथा जनताको प्रतिनिधि संस्थासँग आवश्यक संवाद नगरेको कारण उनी नैतिक रूपमा पदमा बसिरहन उपयुक्त नरहेको निष्कर्ष निकालेका हुन्।
वक्तव्यमा प्रधानमन्त्रीमाथि लगाइएका मुख्य आरोपहरू यस्ता छन् :
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री संसद् बैठकबाट बाहिरिनु र पुनः उपस्थित नहुनु।
प्रतिपक्षी दलहरूले संसदमा उपस्थित हुन आग्रह गर्दा पनि संसद् भवनमा नगई नजिकैको कार्यालयबाट बैठक हेरेर बस्नु।
नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित रहनु तथा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन उपस्थित नहुनु।
प्रधानमन्त्री नियुक्त भएपछि हालसम्म संसद्को कुनै बैठकमा प्रत्यक्ष रूपमा सम्बोधन नगर्नु।
साम्पाङले न्यूनतम जिम्मेवारी पूरा गर्न नसक्ने नेतृत्वले पदमा बसिरहनु लोकतान्त्रिक मूल्यअनुसार उचित नहुने भन्दै पदत्यागमार्फत संसदीय प्रणालीप्रति सम्मान देखाउनुपर्ने बताएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्