राप्रपाले जेठ २८ र २९ मा केन्द्रीय कार्यसमिति बैठक बोलायो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १, शुक्रबार १८:३२

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी जेठ २८ र २९ गते काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठक बस्ने निर्णय गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैठकपछि जारी प्रेस विज्ञप्तिअनुसार हालै सम्पन्न निर्वाचनका सम्बन्धमा सातै प्रदेशमा भएका समीक्षा बैठकका सुझावसहितको प्रतिवेदनलाई परिमार्जन गरेर आगामी कार्यसम्पादन तथा केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिने जनाइएको छ।
त्यस्तै, प्रतिनिधिसभाको निर्वाचनका कारण स्थगित भएका जिल्ला, स्थानीय तथा सबै तहका अधिवेशन पुनः सञ्चालन गर्ने निर्णय पनि गरिएको छ। राप्रपाले निकट भविष्यमा महाधिवेशन हुने भएकाले विधानबमोजिम स्थानीय तहदेखि प्रदेशसम्म अधिवेशनमा सक्रिय सहभागी हुन पार्टी पंक्तिलाई आह्वान गरेको छ।
यसैगरी आगामी महाधिवेशनको मिति निर्धारण र तालिका तयार पार्न उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री डा. धवल शमशेर राणा तथा सहमहामन्त्री प्रकाशचन्द्र लोहनीलाई जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ।
संविधान संशोधनका लागि सुझाव संकलन गर्न पार्टी सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापाको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी दिइएको र पार्टीको सिद्धान्त तथा घोषणापत्रअनुसार संशोधनको सुझाव पेश गरिने पनि राप्रपाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *