काठमाडौं — नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षीय युवाहरूको भेलाले यसअघि नविकरण भइसकेको क्रियाशील सदस्यता पुनः अद्यावधिक नगर्न देशभरका सदस्यलाई आह्वान गरेको छ।
शनिबार काठमाडौंको सुकेधारामा आयोजित भेलाले १५औँ महाधिवेशनका लागि विधानअनुसार प्रक्रिया पूरा गरेर वैधानिक रूपमा नविकरण गरिसकिएको सदस्यतालाई फेरि अद्यावधिक गर्न दबाब दिइनु पार्टी विधानविपरीत भएको निष्कर्ष निकालेको हो।
भेलाको निर्णयमा भनिएको छ, “१५औँ महाधिवेशनका लागि पार्टी विधानअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी वैधानिक रूपमा क्रियाशील सदस्यहरूले सदस्यता नविकरण गरिसकेको हुनाले अद्यावधिकको नाममा पुनः सदस्यता नविकरण गर्न दबाब दिने, धम्क्याउने र तर्साउने कार्य बदनियतपूर्ण देखिएको छ। त्यसैले देशभरका क्रियाशील सदस्यलाई सदस्यता अद्यावधिक नगर्न आह्वान गरिन्छ।”
यस्तै, भेलाले कांग्रेस सभापति गगनकुमार थापाद्वारा नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ र नेपाल तरुण दललगायतका भातृ संस्थाहरू विघटन गरिएको विषयप्रति पनि असन्तुष्टि जनाएको छ। उक्त कदमले पार्टी एकतामा आघात पुगेको भेलाको ठहर छ।
भेलाले पार्टीभित्र एकता कायम गर्न तथा नेतृत्वबाट भइरहेको भनिएको विधानविपरीत गतिविधिको विरोधमा देशव्यापी जागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
निर्णयमा भनिएको छ, “केन्द्रीय समितिले पार्टी विधानविपरीत हुने गरी पार्टी एकताविरुद्ध विभिन्न गतिविधि गरेको तथा जिम्मेवार र इमानदार नेता–कार्यकर्तामाथि अनुशासनको नाममा अनुचित कारबाही गरेको हुनाले ती गतिविधि रोक्न र पार्टीको वृहत् एकताका लागि देशव्यापी जागरण अभियान सञ्चालन गरिनेछ।”
भेलामा कांग्रेस नेता गुरु बराल, पूर्वमन्त्री कुन्दनराज काफ्ले, बागमती प्रदेश सदस्य बद्री मुडबरीलगायत युवा नेताहरूको सहभागिता रहेको थियो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्