झण्डै १० वर्षदेखि अलपत्र परेको रानीपौवा –पिपलटार सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ३, आईतवार ०९:५९

नुवाकोट । राजनीतिक रुपमा लामो रस्साकसीपछि नुवाकोटको बेलकोटगढी नगरपालिका क्षेत्रभित्र पर्ने पासाङल्हामु राजमार्गका अन्तर्रगत रानीपौवा –पिपलटार सडकको जीर्ण खण्ड स्तरोन्नतिका लागि नेपाल सरकारले ७६ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । झण्डै १० वर्षदेखि अत्यन्त जीर्ण बनेको उक्त सडक निर्माणका लागि स्रोत सुनिश्चित भएपछि अब भने सडक निर्माणको काम अघि बढ्ने पक्का पक्की जस्तै भएको छ ।

यसअघि चालु आर्थिक वर्षमा विनियोजन गरिएको १९ करोड रुपैयाँबाट ककनी ३५ किलो र पिपलटार–तादीपुल खण्डमा मात्र काम हुने गरी ठेक्का प्रक्रिया अघि बढाइएको थियो । उक्त बजेटबाट बेलकोटगढी क्षेत्रभित्र काम नपर्ने अवस्था देखिएपछि मुख्य रुपमा नुवाकोटका राजनीतिक दलहरु नेपाली कांग्रेससहतिका दलहरुले निरन्तर आवाज उठाएका थिए । यो सडकको स्तरोन्त्तरीका लागि नेपाली कांग्रेस नुवाकोटमा नेता जगदीश्वरनरसिंह केसीले तत्कालिन अर्थमन्त्री रामेश्वर खनाल र भौतिक पूर्वाधार तथा जलस्रोत मन्त्री कुलमान घिसिड.लाई भेटेर बाटोको अवस्थाका बारेमा अवगत गराउँदै ७६ करोड बजेट सुनिश्चितताको माग गरेका थिए ।

यस्तै बेलकोटगढीका मेयर जगतबहादुर गुरुड.सहितका जनप्रतिनिधिहरुले समेत सो सडकका लागि तत्कालिन भौतिक पूर्वाधार मन्त्रीसँग भेटेर सडककालागि बजेट माग गरेका थिए । सोही आधारमा भौतिक पूर्वाधार मन्त्रालयको समन्वयमा अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाबाट पासाङल्हामु राजमार्गलाई बहुवर्षीय योजनामा समावेश गरी थप ७६ करोड रुपैयाँ स्रोत सुनिश्चित गरिएको जनाइएको छ । साथै सडक स्तरोन्नतिका लागि बजेटको आकार पनि झण्डै चार गुणाले बढाइएको छ । बालाजुदेखि रानीपौवाको २० किलोमिटर बाटो भने कालोपत्रेको काम भैरहेको छ ।

तत्कालिन अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त सडकको पुननिर्माणका लागि ५० करोड र त्यसपछि स्रोत सुनिश्चितता गर्दै बजेको विनियोजन गरेपछि उक्त सकडकको काम अघि बढेको थियो । हाल ककनीसम्मको सडक निर्माण भएसँगै अहिले आन्तरिक तथा बाह्य पर्यटककहरुको भीड लाग्न थालेको छ ।

तर रानीपौवादेखि पिपलटारसम्मको सडक निर्माणको विषयमा तत्कालिन अर्थमन्त्री महतले चासो नदेखाएको भन्दै कांग्रेस नेता अर्जुननरसिंह केसीले बजेटको माग गर्दै संसदमा नै अनशन बस्ने चेतावनी दिनुभएको थियो । केसीको सो चेतावनीपछि तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले १९ करोड बजेट विनियोजन गराएका थिए । तर अब ७६ करोडको स्रोत सुनिश्चित भएसँगै सडक निर्माणले गति लिने भएको छ ।

तर सो रकमबाट अझै कालोपत्रेका लागि रकम अपुग हुने अवस्था भने कायम रहने बताइएको छ । यो माग नुवाकोट प्रवेशको पहिलो राजमार्ग हो । उक्त सडकमार्गको ट्रयाक २०१२ सालमा खोलिएको हो । अब तोकिएकै समयमा ठेक्का प्रक्रिया भएर काम अघि बढेको खण्डमा नुवाकोटका नागरिकले पाएको सास्ती अब भने अन्त्य हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *