संविधान संशोधनका लागि राष्ट्रिय संविधान सुधार आयोग गठन गर्न अर्जुननरसिंह केसीको प्रस्ताव

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ३, आईतवार १४:२७

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा ‘राष्ट्रिय संविधान सुधार सुझाव आयोग’ गठन गर्नुपर्ने बताएका छन् ।


प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै केसीले संविधान संशोधन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्नेमा जोड दिएका हुन् । उनले संविधान संशोधनलाई दलगत स्वार्थको विषय नबनाउन आग्रह गर्दै संविधानले कुनै एक दलको चाहना मात्रै प्रतिनिधित्व गर्न नहुने बताए ।


केसीले विगत १० वर्षको संवैधानिक अभ्यासमा देखिएका कमजोरी, त्रुटि तथा व्यवहारिक चुनौतीलाई आधार बनाएर व्यापक राष्ट्रिय बहस आवश्यक रहेको उल्लेख गरे । उनले राजनीतिक दलसँगै नागरिक समाज, बुद्धिजीवी तथा अन्य सरोकारवालासँग राष्ट्रिय संवाद सञ्चालन गरी सर्वपक्षीय सम्मेलनमार्फत संविधान संशोधनको साझा खाका तयार गर्नुपर्ने धारणा राखे ।


सरकारले गठन गरेको संविधान बहस कार्यदलले संविधान संशोधनको काम गर्न नसक्ने टिप्पणी गर्दै उनले संशोधनका लागि केवल संशोधन मात्रै गर्न नहुने बताए । हतारमा गरिने संशोधनले केही वर्षमै पुनः राजनीतिक टकराव निम्त्याउन सक्ने उनको भनाइ थियो ।


नेपाललाई द्वन्द्वको अखडा बन्नबाट जोगाउन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिँदै केसीले संसद् अधिवेशनअघि सरकारले ल्याएका अध्यादेशहरूको श्रृंखलाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे ।
उनले राष्ट्रिय सहमति बिना वर्तमान राजनीतिक अभ्यास र संविधान संशोधन प्रक्रिया अघि बढाइए मुलुक पुनः द्वन्द्वतर्फ जान सक्ने जोखिम रहेको चेतावनी दिँदै त्यसतर्फ सचेत हुन बुद्धिजीवी, नागरिक समाज तथा आम सरोकारवालाको ध्यानाकर्षण गराए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *