काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सुदृढ बनाउन १४औँ महाधिवेशनबाट आएका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गर्न आफू तयार रहेको घोषणा गरेका छन्।
प्रजातान्त्रिक विचार समाजको स्थापना दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसभित्रको एकतालाई बलियो बनाउन आवश्यक परे आफू त्याग गर्न पनि तयार रहेको बताएका हुन्।
उनले पार्टीभित्रको विवाद र घरझगडाका कारण कांग्रेस सरकारले गरेका राम्रा कामसमेत ओझेलमा परेको गुनासो गरे। थापाले सरकारका सकारात्मक कामको समर्थन गर्ने तर गलत काम भए कांग्रेसले सशक्त रूपमा विरोध गर्ने स्पष्ट पारे।
सभापति थापाले कांग्रेस राष्ट्रिय शक्ति भएको दाबी गर्दै लोकतन्त्र स्थापनाका लागि नेताहरूले पुर्याएको योगदानको अवमूल्यन गरेर “राजा मात्रै ठीक” भन्ने भाष्य निर्माण गर्न खोजिएकोप्रति आपत्ति जनाए।
कार्यक्रममा कांग्रेस नेता प्रेमबहादुर खड्काले पनि पार्टी एकताका लागि निर्वाचन समितिमा आवश्यक थप तथा निष्पक्षताको सुनिश्चितता गरिने प्रतिबद्धता व्यक्त गरे। उनले आफू पनि पार्टी एकताका लागि त्याग गर्न तयार रहेको बताए।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीलाई विधि र प्रक्रियाभित्र रहेर एकताबद्ध बनाउन आफूहरू लागिरहेको बताए।
कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसी, संविधानविद् विपिन आचार्य, नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना तथा समाजका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले पनि आ-आफ्नो धारणा राखेका थिए।
प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्ले सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्