नुवाकोट, जेठ ३ — बिदुर नगरपालिका वडा नं. ५ लाई प्लास्टिक मुक्त वडा बनाउने उद्देश्यसहित सञ्चालन गरिएको “एक जिल्ला एक वडा प्लास्टिक मुक्त अभियान” अन्तर्गत फोहोर संकलन सदस्यता वितरण तथा कपडाको झोला वितरण कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ।
वडा कार्यालय, स्थानीय सामाजिक संघसंस्था, युवा क्लब, विभिन्न राजनीतिक दलसँग आबद्ध व्यक्तित्व, शिक्षाप्रेमी, बुद्धिजीवी तथा स्थानीयहरु सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। अभियानअन्तर्गत प्लास्टिकजन्य तथा अन्य फोहोरको संकलन र उचित व्यवस्थापन गर्ने उद्देश्य राखिएको वडा अध्यक्ष लिलानाथ न्यैापानेले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन वडा अध्यक्ष लिलानाथ न्यौपाने र पूर्व नगर प्रमुख शिव गजुरेलले संयुक्त रूपमा गरेका थिए। सोही अवसरमा लामिबगैचा सामाजिक युवा क्लबको अगुवाइमा पहिलो चरणमा ९५ घरधुरीलाई फोहोर संकलन सदस्यता कार्ड र कपडाको झोला वितरण गरिएको जानकारी दिइएको छ।
अभियानलाई सफल बनाउन सहयोग पुर्याउने बिदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, लामिबगैचा सामाजिक युवा क्लब तथा यसको नेतृत्व, डिभिजन वन कार्यालय, सरसफाइ शाखा, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थाप्रति वडा कार्यालयले आभार व्यक्त गरेको छ।
वडा कार्यालयले आगामी दिनमा पनि स्थानीयवासीको सहकार्यमा प्लास्टिकमुक्त वडा निर्माण अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ।


नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्