कांग्रेस देउवा पक्षकाे कर्णालीको ‘दश सूत्र’ सार्वजनिक, १५औँ महाधिवेशन एकताको महाधिवेशन बनाउन आग्रह

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ३, आईतवार २१:०१

कांग्रेस कर्णालीको ‘दश सूत्र–२०८३’ सार्वजनिक, १५औँ महाधिवेशन एकताको महाधिवेशन बनाउन आग्रह
काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले पार्टीभित्र बहत्तर एकता, लोकतान्त्रिक मूल्यमान्यता र भावी कार्यदिशालाई केन्द्रमा राख्दै ‘दश सूत्र–२०८३’ सार्वजनिक गरेको छ। सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्रदेशस्तरीय विचार गोष्ठीमार्फत सार्वजनिक गरिएको उक्त दस्तावेजमा पार्टीको १५औँ महाधिवेशनलाई “एकताको महाधिवेशन” का रूपमा सम्पन्न गर्न जोड दिइएको छ।
दस्तावेजमा कांग्रेसका संस्थापक तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी नेताहरूको योगदान स्मरण गर्दै वर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पार्टी एकताप्रति प्रतिबद्धता व्यक्त गरिएको छ।
कर्णाली कांग्रेसले १५औँ महाधिवेशनलाई विश्वसनीय, निष्पक्ष र सबै कांग्रेसजनको सहभागितामूलक बनाउन तत्काल आवश्यक वातावरण निर्माण गर्न नेतृत्वसँग आग्रह गरेको छ। यसका लागि सदस्यता नवीकरण प्रक्रिया स्थगित गरी सहमतिका आधारमा महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखिएको छ।
त्यस्तै, केन्द्रीय अनुशासन समितिबाट नेता–कार्यकर्तामाथि गरिएका कारबाही र स्पष्टीकरण फिर्ता लिन, समावेशी सिद्धान्तअनुसार युवाको न्यूनतम २५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न तथा प्रवासी नेपालीहरूप्रति सम्मान र सहकार्यको वातावरण बनाउन पनि माग गरिएको छ।
दश सूत्रमा नेपालको सार्वभौमसत्ता, लोकतान्त्रिक व्यवस्था र संघीय शासन प्रणालीको संरक्षण तथा प्रवर्द्धनका लागि लोकतान्त्रिक शक्तिबीच साझा संयन्त्र निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्रीबाट भएको व्यवहारप्रति दुःख व्यक्त गर्दै संसदीय मर्यादाको पालना गर्न आग्रह गरिएको छ।
कर्णाली कांग्रेसले महँगी नियन्त्रण, भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम, पूर्व मनसुन तयारी, ट्रेड युनियन अधिकारको संरक्षण तथा कर्णाली प्रदेशको विकासका लागि आगामी बजेटमा विशेष व्यवस्था गर्न पनि सरकार र पार्टी नेतृत्वसँग माग गरेको छ।
यसैबीच, जेनेजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र डा. आरजु देउवामाथि भएको अभद्र टिप्पणी तथा सांस्कृतिक आक्रमणको निन्दा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *