काठमाडौँ, जेठ ४ — देशमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भई वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले सोमबार दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहने जनाएको छ। मधेश प्रदेशका अधिकांश तराई क्षेत्रसहित अन्य प्रदेशका भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
पूर्वानुमानअनुसार कोशी प्रदेशका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। यस्तै बागमती र गण्डकी प्रदेशका केही स्थानमा पनि वर्षा तथा हिमपातको सम्भावना रहेको छ। देशका अन्य पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ।
यसैबीच लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन्।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्