देशका केही क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना, पहाडी भूभागमा वर्षा र हिमपात हुने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ५, मंगलवार ०७:२३

काठमाडौं । आज देशका विभिन्न क्षेत्रमा तापक्रम बढ्ने तथा गर्मी बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । विशेषगरी मध्य र पश्चिम नेपालमा पूर्वी क्षेत्रको तुलनामा बढी गर्मी महसुस हुने अनुमान गरिएको छ ।


जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ । यस्तै, मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ भने अन्य तराई क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ ।


विभागले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ । अन्य पहाडी तथा हिमाली क्षेत्रमा पनि केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।


त्यसैगरी, मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।


यता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने तातो हावा र उच्च तापक्रमका कारण गर्मी बढी हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *