काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्तामा अवरोध गरेको भन्दै विरोध कार्यक्रम घोषणा गरेको छ । बारले न्याय, विवेक र स्वच्छ प्रक्रियाको पक्षमा आज दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको हो ।
कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधानसँगको भेटपछि बसेको बारको बैठकले सर्वोच्च अदालत प्रशासनबाट ‘अनपेक्षित गतिविधि’ भएको निष्कर्ष निकालेको जनाएको छ । बार महासचिव केदार कोइरालाका अनुसार अदालत प्रशासनले रिट निवेदन दर्ता नगरी दरपीठ गरी फर्काउँदा न्याय प्राप्तिको मार्ग प्रभावित भएको ठहर गरिएको छ ।
बारले संविधान, न्याय प्रशासन ऐन तथा सर्वोच्च अदालत नियमावलीअनुसार कामु प्रधानन्यायाधीशबाट दर्ता गर्न आदेश हुँदाहुँदै प्रशासनले त्यसको पालना नगरेको आरोप लगाएको छ । उक्त व्यवहारलाई बारले ‘असाधारण र अप्राकृतिक’ भन्दै न्यायिक प्रक्रियामाथिको अवरोधका रूपमा व्याख्या गरेको छ ।
नेपाल बारका अनुसार जेठ ५ गते दिउँसो १ः१५ बजे बार परिसरमा लालटिन बालेर विरोध कार्यक्रम गरिनेछ ।
साथै अदालतमा विचाराधीन विषयमा संसदमा टिप्पणी गरिएको घटनाप्रति पनि बारले आपत्ति जनाएको छ ।
बारले संसदीय अभिलेखबाट विवादित अभिव्यक्ति हटाउन सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराउँदै आगामी दिनमा थप आन्दोलनका कार्यक्रमसमेत अघि बढाइने जनाएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्