मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक, नदीकिनार बस्ती हटाइएकालाई राहतदेखि अरनिको राजमार्ग मर्मतसम्म

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ५, मंगलवार २१:३९

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका सात महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेल ले बैठकका निर्णय सार्वजनिक गर्दै पूर्वाधार सुधार, विपद् जोखिम व्यवस्थापन, प्रशासनिक सुधार तथा आर्थिक सहयोगसँग सम्बन्धित निर्णय गरिएको जानकारी दिए ।


बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्विस फ्यांक बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । यस्तै, अरनिको राजमार्ग को मर्मत तथा सुधारका लागि चीन सरकारले उपलब्ध गराउने ७९.३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय पनि गरिएको छ ।


मन्त्रिपरिषद्ले काठमाडौं उपत्यकाका नदीकिनार क्षेत्रमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा प्रभावित हुने परिवारका लागि राहत तथा पुनर्स्थापना सम्बन्धी विशेष व्यवस्था गर्ने निर्णय पनि गरेको छ । निर्णयअनुसार विस्थापित परिवारको विवरण रुजु गरी प्रतिपरिवार २५ हजार रुपैयाँ एकमुष्ट पुनर्स्थापना खर्च उपलब्ध गराइनेछ ।


यस्तै, वैकल्पिक बसोबासको व्यवस्था गर्न प्रोत्साहनस्वरूप पाँच सदस्यीय परिवारलाई प्रतिमहिना १५ हजार रुपैयाँ तथा सोभन्दा बढी सदस्य भए थप प्रत्येक सदस्यका लागि दुई हजार रुपैयाँका दरले हाल तीन महिनासम्म बसोबास व्यवस्थापन खर्च उपलब्ध गराइने निर्णय भएको छ ।


सरकारले वृद्ध, अशक्त, असहाय तथा आफैं व्यवस्थापन गर्न नसक्ने व्यक्तिहरूलाई तोकिएका होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गर्ने भएको छ । साथै, प्रभावित बालबालिका तथा विद्यार्थीको पठनपाठन र स्वास्थ्य सेवा सुनिश्चित गर्न स्थानीय तहसँग समन्वय र सहकार्य गरिने निर्णय गरिएको छ ।


बैठकले प्रत्यायान नियमावली, २०८३ तथा सैनिक सेवा (छैटौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको छ ।


यसैबीच, नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ अनुसार राजपत्रांकित विशिष्ट श्रेणीका सचिवहरूको दरबन्दी मिलान तथा पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *