काठमाडौँ, जेठ ६ गते । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले देशका पहाडी तथा हिमाली भूभागमा बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसम पूर्वानुमान सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
महाशाखाका अनुसार अहिले देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ । अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा पनि केही स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
यता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने तातो दिनको सम्भावना रहेको छ । तापक्रम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ । तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
महाशाखाका अनुसार रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्