अपाङ्गताको सहजताका लागि ककनी गाउँपालिकाले रिमोट ह्विलचियर उपलब्ध गराउने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ६, बुधबार १३:४४

ककनी । नुवाकोटको ककनी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि क्षमता विकास कार्यक्रम सञ्चालन गरेको छ । “समृद्ध ककनीको आधार : कृषि, पर्यटन र दिगो पूर्वाधार” भन्ने नारासहित गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।


कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै महिला तथा बालबालिका शाखाका प्रमुख कविता काफ्ले ले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनलाई सहज बनाउन कार्यक्रममार्फत तातोपानी पिउने थर्मस वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार विनियोजित बजेटबाट अपाङ्गता भएका नागरिकहरूको आवश्यकतालाई मध्यनजर गर्दै सहयोगी सामग्री वितरण गरिएको हो ।


यसैबीच, कार्यक्रमका प्रशिक्षक तथा अपाङ्गता आविष्कार केन्द्र का अध्यक्ष निलकण्ठ पौडेल ले ककनीमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको वास्तविक अवस्था पहिचान गरी उनीहरूका लागि रिमोटवाला ह्विलचियर उपलब्ध गराउन गाउँपालिकासँग सिफारिसको माग गर्नुभयो । उहाँले आविष्कार केन्द्रका तर्फबाट स्वयंसेवक परिचालन गरी अपाङ्गता भएका नागरिकलाई निरन्तर सहयोग र साथ दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।


कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुमन तामाङले अपाङ्गता भएका व्यक्तिहरूले पाउने भत्ता तथा सेवा–सुविधासँगै आवश्यक सामग्रीहरू गाउँपालिकाले निरन्तर उपलब्ध गराउँदै आएको बताउनुभयो । अध्यक्ष तामाङले रिमोट ह्विलचियरको विषयमा गाउँपालिकाको तर्फबाट तत्काल सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा ‘क’ वर्गका पूर्ण रूपमा अरूमा निर्भर अपाङ्गता भएका व्यक्तिहरूका लागि थप विशेष सेवा–सुविधाको व्यवस्था गरिने घोषणा गर्नुभयो ।


कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मिठ्ठुमाया लामा तथा प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई को समेत उपस्थिति रहेको थियो । कार्यक्रममा अपाङ्गता भएका स्थानीय नागरिक तथा उनीहरूका अभिभावकहरूको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *