क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसको निर्देशन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ६, बुधबार १७:५२

काठमाडौं, जेठ ६ — नेपाली कांग्रेस केन्द्रीय कार्यालयले देशभरका वडा कार्यसमितिलाई क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई तीव्र बनाउन निर्देशन दिएको छ।


पार्टीको विद्यमान क्रियाशील सदस्यता वितरण, व्यवस्थापन र अभिलेखीकरण प्रणालीलाई व्यवस्थित, चुस्त र सहज बनाउने उद्देश्यले सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिएको कांग्रेसले जनाएको छ। पार्टीको विधान २०१७ (एघारौँ संशोधन) तथा केन्द्रीय कार्यसमितिको २०८२ चैत ९ गतेको निर्णयअनुसार यो कार्य अघि बढाइएको हो।


कांग्रेसले वडा सभापतिमार्फत अनलाइन वा एप प्रयोग गरेर सदस्यता अद्यावधिक गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ। आवश्यक जानकारी तथा सहायताका लागि पार्टीको केन्द्रीय कार्यालयस्थित डिजिटल सहायता केन्द्रमा सम्पर्क गर्न सकिने पनि केन्द्रीय कार्यालयका कामु मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।


केन्द्रीय कार्यालयका अनुसार वडा सभापतिहरूले मोबाइलमा एप स्टोर वा गुगल प्ले स्टोरबाट नेपाली कांग्रेसको एप डाउनलोड गरी लगइन गरेर तोकिएको समयभित्र सदस्यता अद्यावधिक गर्नुपर्नेछ। यस कार्यको अनुगमन सम्बन्धित पालिका कार्यसमितिले गर्ने बताइएको छ।


यस्तै, क्रियाशील सदस्यता अद्यावधिक कार्यमा असहयोग गरेमा विधानअनुसार वडा सभापतिको वैकल्पिक व्यवस्था गरिने चेतावनीसमेत कांग्रेसले दिएको छ। असहयोग गर्ने वडा सभापतिको विवरण पालिका कार्यसमितिले केन्द्रमा उपलब्ध गराउनुपर्ने उल्लेख छ।


कार्यवाहक मुख्य सचिव दुलालद्वारा जारी परिपत्रमा सदस्यता व्यवस्थापनलाई प्रविधिमैत्री र पारदर्शी बनाउन अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *