काठमाडौं, जेठ ६ — नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन केन्द्रीय निर्वाचन ब्युरोमा १७ सदस्य मनोनयन गर्नुभएकाे छ ।
पार्टी सभापति थापाले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठन गरिएको प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रीय नेपाली कांग्रेस निर्वाचन ब्युरोमा वरिष्ठ पत्रकार तथा नेपाली कांग्रेसका नेता सुदर्शन आचार्य सहित विभिन्न जिल्लाका नेताहरूलाई सदस्यका रूपमा जिम्मेवारी प्रदान गरेका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट जारी प्रेस विज्ञप्तिअनुसार ब्युरो सदस्यमा जीवन परियार, अब्दुल सत्तार, नानु बास्ताेला, सन्दिप राना, प्रकाश तिवारी , वंशलाल तामाङ, , महेश डुङ्गेल, दीपक महतो, हरि पाेखरेल, सूदर्शन आचार्य, राेहित पौडेल, डा. भूमिराज चापागाईं, सिद्धार्थ थापा, नवराज त्रिपाठी, तेज विनोद पौडेल, जगनाथ लामिछाने र मिलनराज बर्तौलालाई मनोनयन गरिएको हो ।
कांग्रेसले निर्वाचन ब्युरोलाई आगामी निर्वाचन लक्षित रणनीतिक कार्ययोजना निर्माण, देशव्यापी निर्वाचन डाटाबेस तयार गर्ने, निर्वाचन तयारीलाई तथ्यांकमा आधारित र वैज्ञानिक बनाउने तथा स्थानीय तहदेखि प्रदेशसम्म विस्तृत निर्वाचन योजना तयार गर्ने जिम्मेवारी दिएको जनाएको छ ।
त्यसैगरी मतदाता र वस्तुस्थितिको विश्लेषण गरी उम्मेदवार छनोट प्रक्रियालाई थप वैज्ञानिक र तथ्यपरक बनाउने, प्रभावकारी निर्वाचन रणनीति तय गर्ने तथा पार्टीको चुनावी अभियानलाई आधुनिक राजनीतिक अभियान संरचनामा रूपान्तरण गर्ने उद्देश्य ब्युरोलाई दिइएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेसले यस कदमले आगामी निर्वाचनमा पार्टी संगठनलाई थप व्यवस्थित, तथ्यांकमुखी र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्