काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाभित्रका नदी तथा खोलाको किनारामा लागू हुँदै आएको पुरानो निर्माण मापदण्डलाई निरन्तरता दिने फैसला गरेको छ।
अदालतको पूर्ण इजलासले पूर्वनिर्धारित व्यवस्थामाथि पुनरावलोकन गर्दै २०६५ मंसिर १ गतेदेखि लागू मापदण्डलाई यथावत् राख्ने निर्णय गरेको हो।
न्यायाधीशहरू सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौला सम्मिलित पूर्ण इजलासले उक्त फैसला सुनाएको हो।
फैसलाअनुसार उपत्यकाका प्रमुख नदीहरू बागमती, विष्णुमती र मनोहराको किनार क्षेत्रमा निर्माण कार्य गर्दा २० मिटर दूरी अनिवार्य रूपमा खाली राख्नुपर्नेछ।
त्यसैगरी धोबीखोलामा पूर्वाधार आयोजना सञ्चालन भएका क्षेत्रमा सोही योजनाअनुसार निर्माण गर्न पाइनेछ भने आयोजना नपुगेका भागमा ९ मिटर क्षेत्र खाली राख्नुपर्ने व्यवस्था कायम गरिएको छ।
अदालतले नख्खु खोलाको किनारामा १२ मिटर, बल्खु, कर्मनासा, कोइके, साले तथा महादेव खोलामा १० मिटर खाली क्षेत्र छोड्नुपर्ने प्रावधानलाई पनि निरन्तरता दिएको छ।
यस्तै करखुसी खोलामा ६ मिटर तथा टुकुचा, सामाखुसीलगायत साना खोलाहरूको किनारामा ४ मिटर खाली राखेर मात्र भवन निर्माण गर्न पाइने व्यवस्था यथावत् रहने फैसला गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्