एमालेमा जिम्मेवारी बाँडफाँटको तयारी, यस्तो छ विभागीय प्रमुख र जनसङ्गठन इन्चार्जकाे प्रस्तावित नामावली

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ७, बिहीबार १६:३३

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेताहरूको कार्यविभाजनसहित विभागीय प्रमुख र जनसङ्गठन इन्चार्ज टुंग्याउने तयारी गरेको छ । शुक्रबार बस्ने सचिवालय बैठकबाट जिम्मेवारी बाँडफाँटलाई अन्तिम रूप दिने तयारी गरिएको बताइएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली ले जेठ ४ गते बसेको सचिवालय बैठकमा विभिन्न नेताहरूको जिम्मेवारीसम्बन्धी प्रस्तावित खाका पेश गरेका थिए । प्रस्तावअनुसार उपमहासचिव प्रदीप ज्ञवालीलाई विदेश मामिला विभाग प्रमुख बनाउने तयारी गरिएको छ भने सचिव पद्मा अर्याललाई संसदीय मामिला विभागको जिम्मेवारी प्रस्ताव गरिएको छ ।


त्यस्तै सचिव हिक्मत कार्कीलाई राष्ट्रिय हित संरक्षण विभाग, भानुभक्त ढकाललाई सङ्गठन विभाग, डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशन विभाग तथा शेरबहादुर तामाङलाई पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी प्रस्ताव गरिएको छ ।


प्रस्तावित सूचीअनुसार आनन्द पोखरेललाई पर्यटन तथा नागरिक उड्डयन विभाग, इन्द्र भण्डारीलाई पार्टीसम्बद्ध प्रतिष्ठान इन्चार्ज, कल्पना चापागाईँलाई समाज कल्याण तथा समाजसेवा विभाग र कर्ण थापालाई उद्योग, वाणिज्य तथा आपूर्ति विभागको नेतृत्व दिने तयारी गरिएको छ ।


यसैगरी क्रान्ति बुर्लाकोटीलाई युवा तथा खेलकुद विभाग, गणेश ठगुन्नालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन विभाग, खेम लोहनीलाई सहकारी तथा गरिबी निवारण विभाग तथा गोकुल बाँस्कोटालाई भूमि व्यवस्था विभाग प्रमुख बनाउने प्रस्ताव गरिएको छ ।


ज्वाला साहलाई कृषि तथा पशुपन्छी विकास विभाग, ठाकुर गैरेलाई खानेपानी तथा सरसफाइ विभाग, देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग तथा निरज आचार्यलाई निर्वाचन आयोग प्रमुखको जिम्मेवारी प्रस्ताव गरिएको छ ।


त्यस्तै बिनाकुमार श्रेष्ठलाई पुस्तकालय तथा अभिलेख विभाग, भारती पाठकलाई वन तथा वातावरण विभाग, डा. भीष्म अधिकारीलाई वित्त तथा कोष व्यवस्थापन विभाग तथा रचना खड्कालाई विज्ञान तथा प्रविधि विभाग प्रमुख बनाउने तयारी छ ।
रामकुमारी झाँक्रीलाई सहरी विकास विभाग, वन्दा पाण्डेलाई श्रम तथा रोजगार विभाग, विशाल भट्टराईलाई जनसङ्गठन समन्वय संयन्त्र तथा पार्वती रावललाई शिक्षा तथा मानवस्रोत विभाग प्रमुखको जिम्मेवारी प्रस्ताव गरिएको छ ।


जनसङ्गठनतर्फ क्षितिज थेवेलाई युवा फाँट, रश्मी आचार्यलाई विद्यार्थी फाँट, हरिप्रसाद घिमिरेलाई भारत प्रवास फाँट तथा कृष्णभक्त पोखरेललाई कानुन फाँट इन्चार्ज बनाउने प्रस्ताव गरिएको छ ।


त्यसैगरी उर्मिला सुनुवारलाई अपाङ्गता फाँट, जनक चौधरीलाई मजदुर विशेष फाँट, गिरिधारीलाल न्यौपानेलाई किसान फाँट तथा टुकाभद्रा हमाललाई महिला फाँट इन्चार्जको जिम्मेवारी दिने तयारी गरिएको छ । सचिवालय बैठकले प्रस्तावित जिम्मेवारीहरूलाई अन्तिम रूप दिने एमाले स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *