विदुर । नेपाली कांग्रेसले देशव्यापी रूपमा सञ्चालन गरेको “जरा अभियान” अन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर–१ मा क्रियाशील सदस्यता अध्यावधिक, पार्टी सुदृढीकरण र संगठन विस्तारका विषयमा बृहत् छलफल तथा भेला आयोजना गरिने भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य केदार नरसिंह केसीको उपस्थितिमा क्षेत्रीय कार्यसमिति, पालिका नेतृत्व, वडा सभापति, महासमिति सदस्य तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिहरूसँग छलफल सम्पन्न भएको हो।
यस्तै क्षेत्रीय कार्यसमिति नेपाली कांग्रेस नुवाकोट–१ का सचिव जगदीश कुइकेलद्वारा जारी सूचनाअनुसार “जरा अभियान” अन्तर्गत आयोजना गरिने बृहत् भेलामा पार्टीका विभिन्न तह र तप्कामा जिम्मेवारीमा रहेका नेता–कार्यकर्तालाई उपस्थितिका लागि आग्रह गरिएको छ।
क्षेत्रीय कार्यसमितिको निर्णयअनुसार आगामी २०८३ जेठ ९ गते शनिबार बिहान ११ बजे चौघाडास्थित क्षेत्रपाल माध्यमिक विद्यालय मा भेला आयोजना गरिने जनाएको छ। कार्यक्रममा महासमिति सदस्य, क्षेत्रीय तथा प्रदेश क्षेत्रीय कार्यसमिति, पालिका सभापति–सचिव, वडा सभापति, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि तथा पार्टीका विभिन्न तहका नेताहरू सहभागी हुने बताइएको छ।
यसैबीच नेपाली कांग्रेस नुवाकोट–१ का क्षेत्रीय सभापति धुर्व श्रेष्ठ ले मुलुक जटिल राजनीतिक अवस्थाबाट गुज्रिरहेका बेला लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताएका छन्। नयाँ राजनीतिक शक्तिहरूले पुराना दललाई लक्षित गरिरहेका बेला कांग्रेसभित्रको एकता अझ मजबुत बनाउनुको विकल्प नरहेको उनको भनाइ छ।
श्रेष्ठले नुवाकोट पुकारसँग कुरा गर्दै १४औँ महाधिवेशनअन्तर्गत देशका धेरै क्षेत्रमा क्रियाशील सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरणको काम सम्पपन्न भए पनि केन्द्रमा ईन्ट्री नभएको र अब सबै काम अघि बढ्ने बताउनुभयो ।
विशेष महाधिवेशनबाट आएको नेतृत्वले क्रियाशील सदस्यता अध्यावधिक गर्ने निर्णय गरेपछि संस्थापनइतर पक्षले केही असन्तुष्टि जनाउँदै बहिष्कारको नीति लिएको चर्चा चलिरहेका बेला नुवाकोट–१ मा भने सहमतिमै प्रक्रिया अघि बढाउन खोजिएको बताइएको छ। अब अध्यावधिकका लाागि गर्न चाहानेलाई अवराेध नहुने र नगर्नेका लागि पनि दवाव नदिने रणनीति अध्यक्ष श्रेष्ठले बनाएका छन् ।
क्षेत्रीय नेतृत्वका अनुसार प्रकाशशरण महत, जिल्ला सभापति रमेश महत लगायत नेताहरूको सहमतिमा जरा अभियान र अध्यावधिकको काम अगाडि बढाउन लागिएको बताइएको छ ।
नेपाली कांग्रेसले “जरा अभियान” मार्फत संगठनलाई तल्लो तहसम्म पुनः सक्रिय बनाउने, पुराना सदस्यलाई जोड्ने तथा नयाँ पुस्तालाई पार्टीसँग जोड्ने लक्ष्य लिएको जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्