-कुन्दनराज काफ्ले
प्रश्न उठाएर खडा भएको काँग्रेस नेतृत्त्व अहिले स्वयं अनेक पश्नबाट घेरिएको छ । पुरानो नेतृत्वमाथि जे आरोप लगाएर लोकप्रियता बटुलेको थियो ती भन्दापनि सङ्गीन प्रश्नको चक्रव्यूहमा चालू नेतृत्त्व फसेको छ । उनै पुरानामाथि शत्रुताको तरवार चलाएर आफू चोखिने कोशिसमा यो नेतृत्त्व लागिपरेको छ ।
जनतासँगको विश्वासको सम्बन्धमा अझ ठूलो खाडल तयार पारिएको छ । पार्टीका सिद्धान्तनिष्ठ मानिसलाई लखेटेर पार्टीको घोषित सिद्धान्तसँग इन्ट्रेस्ट बाझिने व्यापारी र साँठगाँठमा खप्पिस, पार्टीकाे माध्यमबाट अनुचित लाभ लिने व्यक्तिको हालीमुहाली आज झन् शक्तिशाली बनेको छ ।
काँग्रेसका शुभेच्छुक र समर्थकलाई लाजै हुने लोककल्याकारी विचारकाे ढाड सेक्नेगरी केवल कब्जा मात्र गर्ने मनसायप्रेरित उत्ताउला गतिविधिबाट पार्टीलाई ग्रस्त पारिएको छ । डर, धाक र धम्कीबाट आम कार्यकर्तालाई त्रसित गरिएको छ । जनाताको एजेन्डा र आवाजलाई अनादर गर्दैै दलालको घेरामा रमाउने प्रवृत्ति विकास गर्न खोजिँदै छ । यस्ता गतिविधिले नयाँ उत्साह र विचारको सञ्चार हुन सक्दैन ।
जनतासँग टाढिँदै गएको सम्बन्ध र विश्वासलाई पुनर्जागृत गर्न पार्टिको सिद्धान्त र चरित्रमा ठूलो सुधारको बहस गर्ने बेलामा आफ्नै साथीहरू बीचमा द्वन्द्व बढाउन र जम्माजम्मी गुटबन्दी गर्न लागेको प्रष्टै देखिन्छ । यस्ता गतिविधिले पार्टीजीवनलाई अझ क्रोनिक र जर्जर बनाउँछ । जनाताको आस्था र भरोसा गुमिरहेको यस वास्तविक सन्दर्भमा पार्टीका गतिविधिबाट त्याग र सुधारको स्पष्ट संकेत जनतले पाउनु पर्छ । तर यो किञ्चित् भएको छैन ।
पार्टी पुनर्गठनको मतलव पार्टीको राजनीतिक सिद्धान्त र राजनीतिक चरित्रको पुनरुत्थान नै हो । यसका निम्ति देशभरका काँग्रेस कार्यकर्ता र शुभेच्छुक जुर्मुराउनु पर्दछ । प्रश्नका नाममा खडा भएको प्रतिशोधपूर्ण र प्रश्नै प्रश्नकाे पुलिन्दाबाट आशा गर्ने कुनै गुन्जायस देखिँदैन । जनाताको विश्वास र भरोसाका निम्ति हामीहरू जुट्नै पर्छ । यो नेतृत्वको अलमलमा परेर आफ्नाे ऐतिहासिक जिम्मेवारी जुन जनाताको भरोसायोग्य पार्टी निर्माणको विषय छ, त्यसमा अबेर नगरी एकजुट बनौ ।(लेखक: नेका पूर्व केन्द्रीय सदस्य काफ्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको लेख प्रकाशित गरिएको हाे)
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्