काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरूको जिम्मेवारी खोस्न सुरु गरेको छ । विशेष महाधिवेशनमा सहभागी नभएको समूहका केही वडा सभापतिहरूले सदस्यता अद्यावधिकको काम नगरेपछि पार्टीले उनीहरूको जिम्मेवारी अन्य व्यक्तिलाई दिने निर्णय गरेको हो ।
देशव्यापी रूपमा ‘जरा अभियान’ सञ्चालन गरिरहेको कांग्रेसले अहिलेसम्म झण्डै ५० जना वडा सभापतिहरूलाई क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी जिम्मेवारीबाट हटाइसकेको जनाएको छ । उनीहरूको स्थानमा सम्बन्धित वडा कार्यसमितिमै रहेका अन्य व्यक्तिलाई उक्त जिम्मेवारी दिइएको छ ।
कांग्रेसका सभापति गगन थापाले शुक्रबार सुनसरीको लौकहीमा आयोजित प्रदेश तथा स्थानीय तह स्तरीय भेलामा बोल्दै आफूले करिब ५० जना वडा सभापतिको जिम्मेवारी परिवर्तन गरिसकेको जानकारी दिए ।
उनले वडा सभापतिहरूको पद भने यथावत रहने स्पष्ट पार्दै सदस्यता अद्यावधिकको काम मात्रै अर्को व्यक्तिलाई दिइएको बताए ।
“वडा सभापतिहरू वडा सभापति नै हुनुहुन्छ । उहाँहरूको पदमा कुनै असर पर्दैन । तर, क्रियाशील सदस्यता अद्यावधिकको जिम्मेवारी भने अर्को साथीलाई दिइसकेको छु,” थापाले भने ।
उनका अनुसार पार्टी विधानले दिएको अधिकार प्रयोग गर्दै जिम्मेवारी परिवर्तन गरिएको हो । पार्टीको निर्णय कार्यान्वयन नगर्ने अवस्थामा नयाँ व्यक्तिलाई जिम्मेवारी दिन सकिने उनले बताए ।
सभापति थापाले सदस्यता “अद्यावधिक” भन्ने शब्द चयन नै गलत भएको स्वीकार गर्दै यसलाई “नवीकरण” भन्नुपर्ने धारणा पनि व्यक्त गरे । उनले केही नेताहरूले “अद्यावधिक” शब्दलाई लिएर भ्रम सिर्जना गरेको टिप्पणी गरे ।
उनले हालै डा. शेखर कोइरालासँग भएको छलफलमा पनि शब्द चयनबारे कुरा भएको उल्लेख गर्दै नवीकरण प्रक्रियासँग आवश्यक तथ्याङ्क अनिवार्य रूपमा जोडिनुपर्ने बताए ।
थापाले १५ औँ महाधिवेशनका लागि सबै नेता–कार्यकर्ताले पुनः सदस्यता नवीकरण गर्नैपर्ने स्पष्ट पारे । २०८२ सालमा गरिएको नवीकरण मात्र आगामी महाधिवेशनका लागि मान्य नहुने उनको भनाइ थियो ।
“प्रत्येक वर्ष सदस्यता नवीकरण गर्नुपर्छ । १५ औँ महाधिवेशनका लागि पुरानै नवीकरणले पुग्दैन,” थापाले भने ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्