काठमाडौं — नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओली लाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेकी छन्। जारी सचिवालय बैठकमा उनले अब नयाँ पुस्तालाई नेतृत्व दिने समय आएको बताएकी हुन्।
पूर्वउपाध्यक्षसमेत रहेकी शाक्यले लामो समय एउटै नेतृत्वमा पार्टी अघि बढ्दा संगठन कमजोर बन्दै गएको टिप्पणी गरिन्। उनले निर्वाचनपछिको परिस्थितिमा एमालेको जनाधार खस्किएको उल्लेख गर्दै पार्टीलाई पुनः सशक्त बनाउन सामूहिक नेतृत्व आवश्यक रहेको धारणा राखिन्।
शाक्यले एमाले कुनै एक व्यक्तिको स्वामित्व नभई लाखौँ कार्यकर्ताको त्याग र संघर्षबाट बनेको पार्टी भएको बताइन्। उनले नेतृत्वमा दम्भ, गुटगत सोच र व्यक्तिकेन्द्रित प्रवृत्ति कायम रहे पार्टी थप कमजोर बन्न सक्ने चेतावनी दिइन्।
उनको भनाइमा अहिलेको समय विचार, इमानदारी, संघर्ष र सामूहिकतामा आधारित नेतृत्वको माग गर्ने समय हो। त्यसैले नयाँ पुस्तालाई विश्वास गर्दै पुस्तान्तरणको प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिइन्।
शाक्यले अध्यक्ष ओलीलाई सम्मानजनक रूपमा पदबाट अलग भएर पार्टीलाई नयाँ दिशा दिने वातावरण बनाउन आग्रह गर्दै व्यक्तिपूजा भन्दा संगठन र जनताको हितलाई प्राथमिकता दिनुपर्ने बताइन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्