नुवाकोट । लामो समयदेखि विवाद र रस्साकस्सीका कारण रोकिएको नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक तथा नवीकरण प्रक्रिया अन्ततः नुवाकोट निर्वाचन क्षेत्र नम्बर–१ मा सुरु भएको छ।
शनिबार लिखु गाउँपालिकाको चौघडामा बसेको क्षेत्रीय समिति बैठकले क्रियाशील सदस्यता अध्यावधिकसहित पार्टीका सबै सांगठनिक काम अघि बढाउने निर्णय गरेको हो। बैठकले वडा समितिहरूलाई अध्यावधिकको काम छिटो सम्पन्न गर्न समेत आग्रह गरेको छ।
केन्द्रीय प्रमुख पार्टीका केन्द्रीय सदस्य अष्ट काव्यकाे प्रमुख आतिथ्यतामा,विशेष अतिथि रामप्रसाद अधिकारीको विशेष आतिथ्य तथा प्राविधिक एवं एनएसयू नेता रोशन यादवको उपस्थितिमा कार्यक्रम सम्पन्न बैठकले लामो समयदेखि अड्किएको क्रियाशील सदस्यता नवीकरणको काम अघि बढाउने सहमति जुटाएको बताइएको छ।
जिल्ला सभापति रमेश महतले पनि शनिबारकै क्षेत्रीय समिति बैठकबाट आफ्नो क्रियाशील सदस्यता अध्यावधिक गराएका छन्। उनले पार्टीको वैधानिक नेतृत्वले दिएको निर्देशनअनुसार आफू नेपाली कांग्रेसको कार्यकर्ता भएकाले पार्टी नीति अनुसार अघि बढेको बताएका छन्।
“व्यक्तिगत रूपमा म डा. शेखर कोइराला निकट हुन सक्छु, नुवाकोटमा रामशरण महत र प्रकाशशरण महतको भतिज पनि हुँ, तर पार्टीको निर्णय र नीति अनुसार नै अघि बढ्छु,” महतले बताएका छन्। यस्तै क्षेत्रीय अध्यक्ष धुर्व श्रेष्ठले साेहि बैठकबाट नै अध्यावधिक गराएका छन् । डा शेखर निकट जिल्ला सभापति र डा प्रकाशशरण महत निकट क्षेत्रीय अध्यक्षले क्रियाशिल अध्यावधिक गराउनुलाई नुवाकोटमा निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
क्षेत्रीय सभापति श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा अष्ट काव्यले सदस्यता अध्यावधिक मात्र गरिएको र नविकरण नभएको भन्दै यसले सदस्यलाई डिजिटल माध्यममा लान खाेजिएकाले यसकाे उपयाेग गर्न र सदस्यता अध्यावधिक गर्न आग्रह गर्नुभयाे ।
केन्द्रीय प्रतिनिधिका रुपमा कार्यक्रमका विशिष्ट अतिथि अधिकारीले क्रियाशिल सदस्यलाई डिजिलाइजेशन गर्न खाेजिएकाे भन्दै सदस्यता अध्यावधिक गर्न आग्रह गर्नुभयो । उहाँले याे कार्यक्रम १५ औँ महाधिवेशनकाे तयारी रहेकाे भन्दै अध्यावधिक नभएका सदस्यले १५ औँ महाधिवेशन भाग लिन नपाउने उल्लेख गर्नुभयाे ।
क्षेत्रीय समितिका पदाधिकारी, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा कांग्रेस नेताकार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
नेपाली कांग्रेसले देशभरका वडा समितिहरूलाई जेठ २१ गतेभित्र क्रियाशील सदस्यता अध्यावधिकको काम सम्पन्न गर्न निर्देशन दिइसकेको छ। तर, यो समाचार तयार पार्दासम्म देशभरबाट करिब ७५ हजार सदस्यको मात्रै अध्यावधिक भएको बताइएको छ।
हाल नेपाली कांग्रेसमा करिब साढे आठ लाख क्रियाशील सदस्य रहेको पार्टी स्रोतले जनाएको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्