परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरका एसईई उत्तीर्ण विद्यार्थीहरू सम्मानित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ९, शनिबार २०:४२


काठमाडौं । हालै सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण भएका काठमाडौँको तारकेश्वर नगरपालिकाका विद्यार्थीहरूलाई एक विशेष समारोहका बीच सम्मान गरिएको छ ।

शनिबार ‘परिवर्तन अभियान नेपाल’ ले तारकेश्वरका सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरू नै देशको भविष्य भएको बताए । उनले शिक्षामा केवल किताबी ज्ञान मात्र नभई अनुशासन र नैतिक मूल्य मान्यताको पनि उत्तिकै महत्त्व हुनेमा जोड दिए । नेता केसीले विद्यार्थीहरूलाई जीवनको यो नयाँ खुट्किलोमा सही निर्णय लिन र आफ्नो रुचि अनुसारको विषय छनोट गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा सांसद खुश्बु ओलीले सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिइन् । सांसद ओलीले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न सुझाव दिँदै आफूले १६ वर्षकै उमेरदेखि काम गर्न थालेको अनुभव सुनाइन्। उनले भनिन्, ‘पढाइसँगै सीप र काम गर्ने बानी बसाल्नुस्, यसले तपाईंलाई आर्थिक रूपमा मात्र होइन, अनुशासित पनि बनाउँछ।’ साथै, उनले अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई अरूसँग तुलना नगर्न र उनीहरूको रुचिको विषय पढ्न दिन आग्रह गरिन्। उनले नेपालमै भविष्य खोज्न सकिने वातावरण निर्माणका लागि आफूहरूले सदनमा नीतिगत तहमा काम गरिरहेको समेत बताइन्।

यसैगरी सांसद केपी खनालले आफ्नो बाल्यकालदेखिको सामाजिक यात्रा स्मरण गर्दै विद्यार्थीहरूलाई स्वदेशमै भविष्य खोज्न आग्रह गरे ।

उनले विदेश पलायन हुने प्रवृत्तिको सट्टा नेपालमै बसेर कसरी परिवर्तन ल्याउन सकिन्छ भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

यस्तै सांसद निष्कल राईले विद्यार्थीहरूलाई राजनीतिक र सामाजिक रूपमा सचेत रहँदै देश विकासमा लाग्न प्रेरित गरे ।

परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले विद्यार्थीहरूका लागि संस्थाले आगामी एक महिनासम्म निःशुल्क शैक्षिक परामर्श (काउन्सिलिङ) उपलब्ध गराउने घोषणा गरे । उनले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका विद्यार्थीहरूका लागि विभिन्न प्लस टु कलेजहरूसँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै कांग्रेस काठमाडौं सभापति सबुज बाँनिया ले राज्यले नेपालको शैक्षिक शुधारमा ध्यान दिन आबस्यक भयको बताउनुभयो ।

नगरपालिकाको शैक्षिक अवस्थाबारे चर्चा गर्दै तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले सामुदायिक र संस्थागत विद्यालयको नतिजामा सुधार आउनु खुसीको कुरा भएको बताइन् । नगरपालिकाले शिक्षा र खेलकुदलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले उल्लेख गरिन् ।

कार्यक्रममा पृथ्वी नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण काप्री हिसान तार्केस्बर अध्यक्ष धन पुन लगायत विभिन्न विद्यालयका प्रअहरूले पनि विद्यार्थीहरूलाई भविष्यको शुभकामना दिएका थिए ।
सम्मान कार्यक्रमका साथसाथै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए । विशेष गरी ‘श्री महाँकाल माई बाँसुरी खलक’ को सुमधुर बाँसुरी वादन र छात्राहरूको आकर्षक नृत्यले कार्यक्रममा रौनकता थपेको थियो ।

४.० जीपीए ल्याउने विद्यार्थीहरू सहित सबै उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *