नुवाकोट । नेपाल निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) नुवाकोटमा आबद्ध संस्थागत विद्यालयहरूले यस वर्षको एसईई–२०८२ परीक्षामा उत्साहजनक नतिजा हासिल गरेका छन् ।
जिल्लाभर प्याब्सनमा संगठित २० वटा माध्यमिक विद्यालयबाट सहभागी ३६८ जना परीक्षार्थीमध्ये ९१.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । गत वर्ष यो संख्या ८३ प्रतिशत मात्र रहेको थियो ।
यस वर्ष १२ वटा विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् । उत्कृष्ट नतिजासँगै ४ जीपीए ल्याउने विद्यार्थीहरूले पनि जिल्लालाई गौरवान्वित बनाएका छन् ।
४ जीपीए प्राप्त गर्ने विद्यार्थीहरूमा सूर्य ज्योति एकेडेमी, विदुर–९ कोलोनीका विद्यार्थी विनोद शाह कानु तथा सुभेनियर बोर्डिङ स्कुल, विदुर–२ बट्टारका विद्यार्थी स्टेफन धमला रहेका छन् ।
उत्कृष्ट नतिजाको सम्मानस्वरूप प्याब्सन नुवाकोटले विशेष सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।
साथै प्याब्सन विदुर नगर समितिले ४ जीपीए प्राप्त विद्यार्थीहरूलाई घर–घरमै पुगेर सम्मान गर्ने कार्यक्रम तय गरेको जनाएको छ ।
त्यस्तै, शतप्रतिशत नतिजा ल्याउने विद्यालयहरूलाई पनि नगर प्याब्सन कार्यसमितिले सम्बन्धित विद्यालयमै पुगेर सम्मान गर्ने कार्यक्रम रहेको छ ।
यससँगै विदुर नगरपालिकाले सञ्चालन गरेको आधारभूत तह परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल विद्यालयहरूलाई समेत सम्मान गरिने तय भएको विदुर प्याब्सन अध्यक्ष रामराजा कुमालले नुवाकोट पुकारलाई जानकारी दिनुभयाे ।
नेपालको शैक्षिक क्षेत्रमा संस्थागत विद्यालयहरूले गुणस्तरीय शिक्षा, आधुनिक शिक्षण पद्धति तथा प्रतिस्पर्धात्मक वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
ग्रामीण तथा शहरी दुवै क्षेत्रमा विद्यार्थीहरूको शैक्षिक उपलब्धि वृद्धि गर्न निजी विद्यालयहरूको योगदान उल्लेखनीय बन्दै गएको शिक्षाविद्हरू बताउँछन् । यस वर्षको एसईई नतिजाले पनि संस्थागत विद्यालयहरूको मेहनत, व्यवस्थापन र शैक्षिक गुणस्तरलाई थप पुष्टि गरेको छ ।
अझ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नुवाकोटले शैक्षिक गतिविधि, संगठनात्मक एकता तथा गुणस्तरीय शिक्षाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै देशभरकै प्याब्सन संगठनमध्ये आफूलाई नमुना संगठनका रूपमा स्थापित गर्ने दिशामा अघि बढेको छ ।
प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले जिल्लाको शैक्षिक विकास, विद्यार्थीमैत्री वातावरण तथा निजी विद्यालयहरूबीच समन्वय र सहकार्यलाई प्राथमिकतामा राखेर संगठनलाई थप प्रभावकारी बनाउने अभियान सञ्चालन गरिरहेको बताएका छन् ।जसकाे प्रतिफल संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीले पाउँदै आएका छन् ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्