काठमाडौं । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक सक्रिय न्यून चापीय प्रणालीको प्रभाव कायम रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ । मधेससहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
विभागले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाएको छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी विभागले दिएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा गर्मी बढ्ने तथा तराई क्षेत्रमा तातो लहरको अवस्था रहने सम्भावना रहेको जनाइएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्