गण्डकीबाट देउवा पक्षीय भेलाको निश्कर्ष : जेठ १५ भित्र कांग्रेस विवाद समाधान नभए महासमिति बैठक बाेलाउने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १०, आईतवार ०८:०१

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूको भेलाले नेपाली कांग्रेसभित्रको विवाद २०८३ साल जेठ १५ गतेभित्र समाधान गर्न नेतृत्वलाई आग्रह गरेको छ ।


शनिबार पोखरामा आयोजित ‘नेपाली कांग्रेसको बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठी तथा गण्डकी प्रदेशस्तरीय भेलाले निर्धारित समयभित्र पार्टीभित्रका समस्या समाधान नभए महासमिति बैठक आह्वान गर्ने निर्णय गरेको हो । भेलाले ९ बुँदे निर्णयसमेत सार्वजनिक गरेको छ ।


निर्णयमा पार्टीभित्रको आन्तरिक विवादले कांग्रेसको नेतृत्व क्षमतामाथि प्रश्न उठेको उल्लेख गर्दै नेताहरूबीच तत्काल घनिभूत संवाद गरी एकताको सन्देश दिन आग्रह गरिएको छ । त्यसका लागि गगन थापा, पूर्णबहादुर खड्का र डा. शेखर कोइराला लगायतका नेताहरूलाई विशेष आग्रह गरिएको निर्णयमा उल्लेख छ ।


भेलाले २०८३ जेठ १५ सम्म पनि निकास ननिस्किए महासमिति बैठकमार्फत समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।
यस्तै, सरकारले सुकुम्बासी बस्तीहरूमा डोजर प्रयोग गरी हटाउने कार्य गरेको भन्दै त्यसको विरोध गरिएको छ । संविधानले सुनिश्चित गरेको आवाससम्बन्धी मौलिक अधिकार कार्यान्वयन गर्दै सुकुम्बासीलाई तत्काल आवास उपलब्ध गराउन सरकारसँग माग गरिएको छ ।


निर्णयमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र डा. आरजु राणा देउवाको स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।
भेलाले विभिन्न क्षेत्रका उद्यमी, निर्माण व्यवसायी र राजनीतिककर्मीमाथि कानुनी प्रक्रिया पूरा नगरी गरिएको धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्ता कार्य प्रतिशोधपूर्ण भएको आरोप लगाउँदै कानुनी प्रक्रिया पालना गर्न सरकारलाई आग्रह गरिएको छ ।


त्यसैगरी, बीपी कोइरालाको सिद्धान्त र आदर्शबाट पार्टी विमुख हुँदै गएको उल्लेख गर्दै बीपीको विचारलाई समयानुकूल परिमार्जन र परिष्कृत गर्दै राष्ट्रव्यापी बहस चलाउनुपर्ने निर्णय गरिएको छ ।
भेलाले देवघाटधाम, मुक्तिनाथ, शालीग्राम क्षेत्र तथा पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेशलाई आत्मनिर्भर बनाउन अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि विशेष पहल गर्न सरकारसँग माग गरेको छ ।


त्यस्तै, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र भ्रातृ संस्थाका केन्द्रीय समिति विघटनप्रति असन्तुष्टि जनाउँदै पार्टीभित्र अन्यायपूर्ण गतिविधि नगर्न चेतावनी दिइएको छ ।
भेला डा. शशांक कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा मोहनबहादुर बस्नेत लगायत जिल्ला सभापति तथा नेताहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *