चितवन । नेपाल चिकित्सक संघले यही जेठ १६ र १७ गते चितवनमा ३०औँ चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नारासहित सम्मेलन आयोजना गर्न लागिएको हो ।
सम्मेलन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा सञ्चालन हुनेछ । संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीका अनुसार कार्यक्रममा भारत र चीनका विशेषज्ञ चिकित्सकका साथै विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
सम्मेलनमा विश्व मेडिकल एसोसिएसनका विज्ञहरूको भिडियो प्रस्तुतीकरणसमेत रहने जनाइएको छ । देशभरबाट प्रतिनिधिमूलक रूपमा चिकित्सकहरूको सहभागिता रहने अध्यक्ष डा. कार्कीले जानकारी दिए ।
उनका अनुसार सम्मेलनमा चार वटा समूहगत छलफल गरिनेछ भने ६० कार्यपत्रसहित १०० भन्दा बढी वैज्ञानिक प्रस्तुतीकरण हुनेछन् । सम्मेलनले नेपालको स्वास्थ्य सेवा प्रणाली, प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा स्वास्थ्य क्षेत्रमा नवप्रवर्तनका विषयमा केन्द्रित भएर छलफल गर्ने आयोजकले जनाएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्