नेविसंघको नियमित अधिवेशनको मिति, प्रक्रिया र तयारीको स्पष्ट ‘रोडम्याप’ सार्वजनिक गर्न माग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १०, आईतवार १५:३१

काठमाडौँ । विपक्षी दल नेपाली कांग्रेसको भातृ संसथा नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्र साङ्गठनिक र वैचारिक अन्योल बढेको भन्दै ‘नेविसंघ १२ औँ महाधिवेशन पक्षधर’ समूहले नेपाली कांग्रेसका सभापति गगन थापासँग संघभित्र देखिएको नेतृत्व सम्बन्धी विवाद र संरचनागत अस्पष्टताले विद्यार्थीहरूमा निराशा उत्पन्न भएको भन्दै त्यस सम्बन्धमा पार्टीको आधिकारिक धारणा माग गरेको छ ।

समूहले ज्ञापनपत्र बुझाउँदै सङ्गठनको भावी दिशाबारे गम्भीर प्रश्नहरू उठेको भन्दै चार माग अघि सारेको हो । ज्ञापनपत्रमा उनीहरूले नेविसंघको नियमित अधिवेशनको मिति, प्रक्रिया र तयारीको स्पष्ट ‘रोडम्याप’ सार्वजनिक गर्न माग गरिएको छ ।

नेविसंघको सिनेट बैठकले प्रस्ताव गरेको स्वायत्त तथा स्वचालित मोडलको सम्बन्धमा पार्टीले कहिले औपचारिक छलफल गरी निर्णय प्रक्रिया अघि बढाउँछ रु सरकारले विद्यार्थी सङ्गठन खारेज गर्ने भनी गरेको निर्णयप्रति पार्टीको आधिकारिक धारणा के हो ? विद्यार्थी आन्दोलन र सङ्गठन स्वतन्त्रताको पक्षमा पार्टीको स्पष्ट मत के हो सार्वजनिक गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ ।

परिवर्तित राजनीतिक र शैक्षिक परिवेश अनुसार अबको विद्यार्थी आन्दोलन कस्तो हुने ? यसको भावी दिशा र रणनीतिबारे पार्टीको स्पष्ट वैचारिक र नीतिगत दृष्टिकोण सार्वजनिक गर्न पनि समूहले आग्रह गरेको छ । ज्ञापनपत्रमा लेखिएको छ, ‘नेपाल विद्यार्थी संघको सुदृढीकरण, वैचारिक स्पष्टता र लोकतान्त्रिक अभ्यासका लागि पार्टीले यी प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’

विद्यार्थी नेताहरूले पार्टीले समयसापेक्ष योजना र आवश्यक निर्णय प्रक्रिया यथाशीघ्र अगाडि नबढाए सङ्गठन थप धराशायी हुने चेतावनी समेत दिएका छन् । अमृत कार्की, प्रमोद राई, पुष्कर शाहीलगायतले ज्ञापनपत्र पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई बुझाएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *