सावधान ! काँग्रेस कमजोर पार्ने खेल राेकाैँ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ११, सोमबार ०७:३०

— कुन्दनराज काफ्ले

नेपाली काँग्रेसमा अहिले
१. विशेष अधिवेशन
२. सदस्यता अद्यावधिक
का विषयलाई अत्यधिक चर्चामा ल्याइएको छ ।
नियोजित रूपमा गरिएको विशेष अधिवेशनबाट नाटकीय ढंगले सभापति तथा युवा उपसभापतिज्यू चयन गरिनुभयो । उहाँहरू नेपाली काँग्रेसको कार्यकारी महामन्त्रीको हैसियतमा रहँदा विशेष महाधिवेशनका लागि देशभर हस्ताक्षर संकलन गर्न निर्देशन जारी गरिएको थियो । पार्टीका थुप्रै इमानदार महाधिवेशन प्रतिनिधिहरूलाई भ्रममा पारेर त्यसका निम्ति प्रयोग गरियो । अहिलेका घटनाक्रमले यो केवल नियोजित मात्र नभई प्रायोजित विषय थियो भन्ने पुष्टि गर्दै गइरहेका छन् ।


उक्त घटनाले पार्टीलाई कमजोर बनायो । निर्वाचनमा हार बेहोर्नुपर्‍यो । पार्टीभित्र विभाजन बढ्यो । जिल्ला तथा विभिन्न निकायका साथीहरूबीच फुट ल्याइयो । पार्टीको जरासम्म विष फैलाइयो । समय र परिस्थितिअनुसार यो सर्वथा गलत कदम थियो भन्ने अहिले स्पष्ट हुँदै गएको छ । पार्टीलाई कमजोर र दुरुह बनाउन पार्टीविरोधी घरेलु तथा बाह्य शक्तिको संकेत यसमा प्रस्ट देखिन्छ ।
सर्वसम्मतिको नाटक मञ्चन गर्दै प्रायोजित अधिवेशनबाट बनाइएको केन्द्रीय समिति र त्यसको नेतृत्वले फेरि पार्टी सदस्यता अद्यावधिक तथा हालसाबिकका नाममा सदस्यता नवीकरण गरिसकेका साथीहरूलाई धम्कीपूर्ण उर्दी जारी गरेको छ । यसले पार्टीलाई झन् कमजोर र कटुतापूर्ण अवस्थामा पुर्‍याएको छ । तन, मन र धनले समर्पित लाखौँ कार्यकर्ताको मानमर्दन र अपमान गरिएको छ । पार्टी सदस्यलाई लोकतन्त्रका व्याख्याताबाट दासमा परिणत गर्दै पार्टी कब्जा गर्ने योजनाबद्ध प्रयास भइरहेको अनुभूति भइरहेको छ ।


विशेष अधिवेशनको बेमौसमी इन्द्रजाल फैलाइँदै गर्दा काँग्रेसभित्र गम्भीर समीक्षा र बहसको आवश्यकता थियो । पार्टी व्यवहारतः सिद्धान्तच्युत हुँदै गएको, आफ्नै नेतृत्वमा बनेको संविधानको उचित कार्यान्वयन हुन नसकेको, भ्रष्टाचार मौलाएको, समाजवाद र समानताविपरीत गतिविधि बढ्दै गएको जस्ता विषयमा निर्मम मूल्याङ्कनसहित बहस हुनुपर्थ्यो । पार्टीको जनतासँगको विश्वास र सम्बन्धबारे हुनुपर्ने छलफललाई विषयान्तर गरियो । व्यक्तिगत कुण्ठा र महत्त्वाकांक्षाका कारण यति ऐतिहासिक र जिम्मेवार पार्टीलाई कमजोर बनाइयो । यसो हुनुमा काँग्रेस, लोकतन्त्र र देशलाई कमजोर बनाउने शक्तिको चलखेल रहेको स्पष्ट देखिन्छ ।
पन्ध्रौँ महाधिवेशनका लागि पार्टीमा निष्पक्ष नेतृत्व आवश्यक छ ।

पार्टीभित्रका साथीहरूबीचको भाइचाराको आत्मीय सम्बन्ध पुनःस्थापित गर्न जरुरी छ । त्यसपछि मात्र काँग्रेसले गुमेको साख फिर्ता गर्न सक्छ । राजनीतिक सिद्धान्त, विचार र चरित्रको पुनर्निर्माण गर्न सकिन्छ । जनतासँग टुटेको सम्बन्ध पनि त्यतिबेला मात्रै पुनर्जागृत हुन्छ, जब त्याग, समर्पण र एकताको एकीकृत स्वरूप जनताले देख्ने अवसर पाउँछन् ।


नेपाली काँग्रेसका साथीहरू ! कसैको डर, धाक वा धम्कीमा नपरी, अलमलमा नफसी पार्टी पुनर्निर्माणको अभियानमा परिचालित बनौँ । नेपाली काँग्रेसका प्रत्येक सदस्यको दायित्व यसको घोषित सिद्धान्तलाई व्यवहारमा उतार्नु हो । त्यसका लागि पार्टीभित्र गुट, फुट र लुटलाई कुनै पनि स्थान दिनु हुँदैन । हाम्रासामु जनताका सपना छन् । जनताको भरोसा बन्न हामी इमानदार बनौँ । आफ्नै माटो र आफ्नै अन्तःकरणको प्रेरणाबाट स्वाभिमानको झण्डा उठाऔँ ।(लेखक : कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य हुन)

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *