१५औँ महाधिवेशन तयारी स्वरुप कांग्रेसले खटायाे सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ११, सोमबार १६:२५

काठमाडौं, जेठ ११ — नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिने उद्देश्यसहित क्रियाशील सदस्यता अद्यावधिक तथा व्यवस्थापन अभियानलाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको छ। पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई विशेष जिम्मेवारी तोक्दै संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको हो।


सभापति गगनकुमार थापाको उपस्थितिमा समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आइतबार पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा बसेको बैठकले सदस्यता व्यवस्थापन र महाधिवेशन तयारीसम्बन्धी विभिन्न निर्णय सार्वजनिक गरेको हो।


बैठकले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई सहज, व्यवस्थित र द्रुत बनाउन सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ। जसअनुसार कोशी प्रदेशमा डा. डिला संग्रौला, बागमतीमा बहादुर सिंह लामा, सुदूरपश्चिममा उदय शमशेर राणा, गण्डकीमा मुक्ताकुमारी यादव, कर्णालीमा जानकी सिंह, मधेशमा देवराज चालिसे तथा लुम्बिनीमा अमरसिंह पुनलाई विशेष जिम्मेवारी प्रदान गरिएको छ।


त्यस्तै बैठकले १५औँ महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा अघिल्लो चरणमा नवीकरण हुन नसकेका सदस्यहरूको नवीकरण प्रक्रिया आगामी जेठ २१ गतेभित्र सम्पन्न गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गरिसक्न निर्देशन दिएको छ।
बैठकले १४औँ महाधिवेशनका क्रममा गठन गरिएको क्रियाशील सदस्यता छानबिन समितिबाट आधिकारिकता प्राप्त सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने निर्णय पनि गरेको छ।


विभिन्न दलबाट कांग्रेसमा समायोजन भएका व्यक्तिहरूको सदस्यता सम्बन्धी समस्या समाधान गर्न बारा, सिराहा, धनुषा, सप्तरी, सोलुखुम्बु, सर्लाही, सुर्खेत, महोत्तरी, कपिलवस्तु, सुनसरी, रौतहट, पर्सा तथा काठमाडौंसहित विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइने निर्णय गरिएको छ। यसले समायोजनपछि देखिएका सदस्यता विवाद समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


बैठकले विदेशस्थित जनसम्पर्क समितिहरूको हकमा पनि आवश्यक निर्णय गरेको छ। अधिवेशन सम्पन्न गरिसकेका सात देशका जनसम्पर्क समितिलाई क्रियाशील सदस्यता अद्यावधिकका लागि अनुमति दिने तथा सदस्यता विवाद नरहेका १५ देशका जनसम्पर्क समितिलाई अधिवेशन सम्पन्न गर्ने कार्यतालिका केन्द्रीय कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ।


त्यस्तै, लामो समयदेखि केन्द्रीय कार्यालयसँग कम सम्पर्कमा रहेका सात देशका जनसम्पर्क समितिका हकमा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया अघि बढाइने तथा समस्या देखिएका आठ देशका जनसम्पर्क समितिको अध्ययन गरी समाधानका लागि आवश्यक समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ।


यसैबीच बैठकले प्रेम विश्वकर्मा लाई नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।


पार्टीभित्र सदस्यता व्यवस्थापन, संगठन विस्तार र महाधिवेशन तयारीलाई लिएर विभिन्न तहमा विवाद र असन्तुष्टि देखिइरहेका बेला कांग्रेसले संगठनलाई व्यवस्थित बनाउन सक्रियता बढाएको संकेतका रूपमा यो निर्णयलाई हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *