एसइईमा ४ जिपिए ल्याउने तीन विद्यार्थीलाई जनही ५० हजार पुरस्कार

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ११, सोमबार २१:०७


विदुर । नुवाकोटको तारकेश्वर गाउँपालिकाले एसइई परीक्षामा ४ जिपिए ल्याउने तीन जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँसहित ‘गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ प्रदान गरेको छ ।


सोमबार दाङसिङस्थित गाउँपालिका कार्यालयमा आयोजित ‘शिक्षक, विद्यार्थी र विद्यालय सम्मान तथा वार्षिक शैक्षिक क्यालेण्डर विमोचन कार्यक्रम’मा गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले उक्त पुरस्कार वितरण गर्नुभएको हो ।
पुरस्कृत हुनेमा गाउँपालिकाका स्थायी बासिन्दा भई गाउँपालिका बाहिर अध्ययन गरेका प्राजन प्रधान, सम्पदा श्रेष्ठ र दिलासा पौडेल रहेका छन् । उनीहरूले एसइई परीक्षामा ४ जिपिए ल्याउन सफल भएका थिए ।


त्यसैगरी, गाउँपालिकाभित्रका विद्यालयमध्ये गत वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने श्रीकृष्ण माविकी छात्रा सुनिता रोक्का र छात्र पवन ढकाललाई जनही ८ हजार रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको छ । उत्कृष्ट विद्यालयका रूपमा शङ्खादेवी माविलाई २५ हजार रुपैयाँ नगदसहित प्रशंसापत्र र दोसल्ला प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।


उत्कृष्ट नतिजा दिलाउने शिक्षकहरूलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेमा शङ्खादेवी माविका नेपाली शिक्षक रामकुमार अधिकारी, अङ्ग्रेजी शिक्षक राजकुमार घिमिरे, गणित शिक्षक विष्णुमणि घिमिरे, सामाजिक शिक्षक दामोदर कुइँकेल, अर्थशास्त्र शिक्षक राजु बस्नेत, पिमलटार माविका विज्ञान शिक्षक निरज श्रेष्ठ, पिपलडाँडा माविका कार्यालय सञ्चालन तथा लेखा विषय शिक्षक विश्वराज घिमिरे तथा श्रीकृष्ण माविका अतिरिक्त गणित शिक्षक जनकमान प्रधान रहेका छन् ।

उनीहरूलाई जनही ४ हजार रुपैयाँ नगदसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । आधारभूत तह (कक्षा ८) को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने श्रीकृष्ण माविकी छात्रा अनिषा श्रेष्ठ र चण्डी माविका छात्र राहुल विकलाई जनही ८ हजार रुपैयाँसहित सम्मान गरिएको छ । साथै उत्कृष्ट विद्यालयका रूपमा श्रीकृष्ण माविलाई २० हजार रुपैयाँ नगद, प्रशंसापत्र र दोसल्ला प्रदान गरिएको छ ।


कार्यक्रममा वार्षिक शैक्षिक क्यालेण्डर विमोचन गर्दै अध्यक्ष अधिकारीले क्यालेण्डरलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुन सबै विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई निर्देशन दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *