गणतन्त्र दिवसमा ‘नुवाकोट रिभरसाइड पार्क’ मा वृक्षारोपण, पर्यटन प्रवर्द्धनमा जोड

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १४, बिहीबार १४:०७

जेठ १४ बिहीबार ।विदुर नुवाकोटको विदुर नगरपालिका वडा नं. १० भैसेँस्थित पर्यापर्यटन पार्कका रूपमा निर्माण गरिएको ‘नुवाकोट रिभरसाइड पार्क’मा गणतन्त्र दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।


विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पार्क क्षेत्रलाई हरियाली तथा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न प्रजातिका फूल तथा विरुवाहरू रोपिएको थियो ।


कार्यक्रमअन्तर्गत कल्किफुल, सिता अशोका, ज्याकरण्ड, कपुर, हाईव्रिड गुल्मोहर लगायतका विभिन्न जातका विरुवाहरू रोपिएको आयोजकले जनाएको छ । पार्कको चारैतर्फ हरियाली विस्तार गर्दै वातावरण संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको बताइएको छ ।


वृक्षारोपण कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, वडा नं. १० का अध्यक्ष गणेशकुमार नेपाल, पार्क व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।


त्यसैगरी कार्यक्रमको आयोजना तथा सहकार्यमा डिभिजन वन कार्यालय नुवाकोट र भू तथा जलाधार व्यवस्थापन कार्यालय का प्रमुख तथा कर्मचारीहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।


स्थानीय तह, सरकारी निकाय र समुदायको सहकार्यमा सञ्चालन गरिएको यस अभियानले नुवाकोट रिभरसाइड पार्कलाई वातावरणमैत्री तथा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *