गणतन्त्र दिवसमा प्रधानमन्त्रीको मौनताप्रति कांग्रेस असन्तुष्ट

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १४, बिहीबार १७:१५

काठमाडौँ — नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सरकार जनताप्रति पर्याप्त जिम्मेवार नदेखिएको निष्कर्ष निकालेको छ।


संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरेको विषय बैठकमा उठेको जानकारी दिइन्। उनले प्रधानमन्त्री अनुपस्थित रहने भए त्यसबारे सार्वजनिक रूपमा कारण स्पष्ट पारिनुपर्ने बताइन्।


थापाका अनुसार प्रधानमन्त्रीले व्यस्तता, स्वास्थ्य अवस्था वा अन्य कारणबारे जानकारी दिएको भए संस्थागत मर्यादा कायम रहने थियो। उनले वर्तमान सरकारले बहुमतको आडमा निर्णय अघि बढाउन खोजेको आरोपसमेत लगाइन्।


उनले विगतमा बजेट निर्माणका क्रममा प्रतिपक्षका सुझाव सुन्ने अभ्यास रहे पनि अहिले प्रतिपक्षले उठाएका विषयमा सरकारबाट अपेक्षित जवाफ नआएको बताइन्। संसद् र जनताले प्रधानमन्त्रीबाट आवश्यक जानकारी पाउनुपर्ने उनको धारणा थियो।


कांग्रेसले आगामी बजेटमा भौतिक पूर्वाधारभन्दा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। साथै, राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि सरकारसँग माग गरिएको थापाले जानकारी दिइन्।


कानुनभन्दा माथि कोही नहुने उल्लेख गर्दै उनले अनुसन्धान र कारबाही कानुनी प्रक्रिया अनुसार अघि बढ्नुपर्ने बताइन्। प्रारम्भिक प्रचारमुखी गतिविधिभन्दा तथ्यमा आधारित अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। प्रतिवेदनमा उल्लेखित विषय पुष्टि भए कानुनी प्रक्रियामार्फत अघि बढाउन कांग्रेसले समर्थन गर्ने उनले स्पष्ट पारिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *