पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत छनोट प्रक्रिया सुरु

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १४, बिहीबार २०:४७

काठमाडौं । सरकारले नेपालको इतिहासमै पहिलोपटक खुला आवेदनमार्फत राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ। परराष्ट्र मन्त्रालयले ‘टर्म्स अफ रेफरेन्स : एम्बेस्डर अफ नेपाल’ जारी गर्दै विभिन्न देशका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। आवेदन दिने अन्तिम मिति २०८३ जेठ २२ गते तोकिएको मन्त्रालयले जनाएको छ।


मन्त्रालयले चीन, अमेरिका, भारतसहित १३ देशका लागि राजदूत नियुक्ति गर्न खुला दरखास्त आह्वान गरेको छ।

जारी मापदण्डअनुसार राजदूत पदका लागि कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्नेछ भने मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।


सरकारी सेवाबाट बर्खास्त भएका वा भविष्यमा सरकारी सेवाका लागि अयोग्य घोषित व्यक्तिले आवेदन दिन नपाउने उल्लेख गरिएको छ। त्यस्तै, विदेशी मुलुकको स्थायी वा अस्थायी बसोबास अनुमति तथा अध्यागमन सुविधा लिएका व्यक्तिहरू पनि अयोग्य मानिनेछन्।


परराष्ट्र मन्त्रालयले भ्रष्टाचार वा नैतिक पतनसँग सम्बन्धित कसुरमा अदालतबाट दोषी ठहरिएका व्यक्तिलाई आवेदन दिन नपाइने स्पष्ट पारेको छ। विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा द्विपक्षीय वा बहुपक्षीय कूटनीतिमा अनुभव भएका र नेपालको प्रतिनिधित्व गर्न सक्षम व्यक्तिलाई प्राथमिकता दिइने जनाइएको छ।


आवेदकमा अंग्रेजी भाषामा राम्रो दक्षता हुनुपर्ने तथा सम्बन्धित देशको भाषाको ज्ञान भए थप लाभदायक मानिनेछ। साथै, प्रस्तावित मुलुकसँग कुनै स्वार्थको द्वन्द्व नभएको, विदेशी सहायता प्राप्त गैरसरकारी संस्थामा हाल कार्यरत नरहेको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने मापदण्ड तय गरिएको छ।


मन्त्रालयका अनुसार कठिन परिस्थितिमा काम गर्न सक्ने क्षमता, अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र भियना महासन्धिसम्बन्धी ज्ञान पनि आवश्यक योग्यता अन्तर्गत राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *