गणतन्त्र दिवस देशभर मनाइँदै,तर प्रधानमन्त्री बालेनले गर्ने छैनन् सम्बाेधन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १५, शुक्रबार ०६:५५

काठमाडौं — आज १५ जेठका दिन देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ। दिवसको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ।


वि.सं. २०६५ जेठ १५ गते जननिर्वाचित पहिलो संविधानसभाले निरंकुश राजतन्त्रको औपचारिक अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। जनआन्दोलन २०६२/६३ को उपलब्धिका रूपमा स्थापित उक्त दिनको स्मरणमा हरेक वर्ष गणतन्त्र दिवस मनाउने गरिन्छ।


राज्यसत्ताको सम्पूर्ण शक्ति जनतामा निहित हुने व्यवस्था प्रारम्भ भएको दिनका रूपमा यस दिवसलाई विशेष महत्वका साथ मनाइँदै आएको छ।


यस अवसरमा आज बिहान काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेल को उपस्थितिमा गणतन्त्र मूल समारोह समितिद्वारा विशेष समारोह आयोजना गरिने भएको छ।
दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न राजनीतिक दलका नेताहरूले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएका छन्। साथै गणतन्त्र स्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ।


यता, प्रधानमन्त्री बालेन्द्र शाहले भने आजको औपचारिक समारोहलाई सम्बोधन नगर्ने भएका छन्। यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहे पनि यसपटक संविधानको धारा ६६ को उपधारा (२) अनुसार राष्ट्रपतिले सम्बोधन गर्ने गरी पत्राचार गरिएको जनाइएको छ।


यसअघि पनि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि संसद्मा धन्यवाद प्रस्तावमाथि प्रधानमन्त्री बालेनले प्रत्यक्ष सम्बोधन नगरी प्रस्ताव मात्रै पेस गरेका थिए। साथै नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका थिए। त्यसक्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले ले जवाफ दिएका थिए।


निर्वाचित भएपछि प्रधानमन्त्री बालेनले हालसम्म देशवासीका नाममा औपचारिक सम्बोधन नगरेको विषय पनि राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *