काठमाडौं, जेठ १७ — देशका विभिन्न भूभागमा आज मेघगर्जन, चट्याङसहित वर्षा तथा केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव कायम छ।
विभागका अनुसार दिउँसो देशभर सामान्यदेखि आंशिक बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ।
त्यस्तै, मधेस, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। देशका तराई र पहाडी भूभागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा कोसी, वाग्मती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
मौसमविद् विनोद पोखरेल का अनुसार पश्चिमी वायुले ल्याएको वर्षाको प्रभाव आइतबारदेखि क्रमशः कमजोर हुँदै जानेछ। उनका अनुसार आगामी हप्तादेखि सीमित स्थानमा मात्र वर्षा हुने सम्भावना छ। पश्चिमी वायुको प्रभाव केही दिन कायम रहने भएकाले अत्यधिक गर्मी भने नहुने उनले बताएका छन्।
पोखरेलका अनुसार आज बिहान काठमाडौं उपत्यकासहित मध्य नेपालका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ भने मधेस प्रदेशमा पनि राम्रो वर्षा हुने सम्भावना रहेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्