आइतबार विद्यालय बन्द गर्ने निर्णय फिर्ता लिन उपत्यका मेयरहरूको माग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १६, शनिबार ०८:५०

जेठ १६ ,काठमाडौ – काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुखहरू आबद्ध उपत्यका मेयर्स फोरमले केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय स्थानीय सरकारको अधिकारक्षेत्रमा हस्तक्षेप भएको भन्दै आपत्ति जनाएको छ।


ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले उक्त निर्णय संविधान र स्थानीय तहको अधिकारको भावना विपरीत रहेको निष्कर्ष निकाल्दै सरकारसँग पुनर्विचार गर्न आग्रह गरेको हो।


फोरमका अध्यक्ष तथा चिरिबाबु महर्जनले विद्यालय सञ्चालन सम्बन्धी निर्णयले स्थानीय तहको संवैधानिक तथा कानुनी अधिकार सीमित बनाएको बताए। उनले आवश्यक परे कानुनी उपाय अवलम्बन गर्न सकिने संकेत पनि गरे।


उनका अनुसार शिक्षा सम्बन्धी कानुनी व्यवस्थाअनुसार विद्यालयले निश्चित कार्यदिन पूरा गर्नुपर्ने हुन्छ। तर अचानक थप सार्वजनिक बिदा घोषणा गरिँदा विद्यालयहरूको वार्षिक शैक्षिक तालिका प्रभावित हुने र अध्ययन–अध्यापनको अवधि घट्ने अवस्था सिर्जना हुन सक्छ।


फोरमले यस विषयमा विस्तृत छलफल गरी साझा निर्णयका साथ अगाडि बढ्ने जनाएको छ। साथै बैठकले स्थानीय तहअन्तर्गत प्रयोग भइरहेका वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामाजिक क्षेत्रसँग सम्बन्धित भवनहरूको स्वामित्व स्थानीय सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *