काठमाडौँ, जेठ१ ७ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्ति छनोट परीक्षा आज सञ्चालन गरेको छ। बिहान ८ बजेदेखि १० बजेसम्म हुने परीक्षामा २६ हजार ६८० विद्यार्थी सहभागी हुने भएका छन्।
महानगरपालिकाका अनुसार परीक्षाका लागि राजधानीका विभिन्न स्थानमा ८३ वटा परीक्षा केन्द्र तोकिएका छन्। छात्रवृत्तिका लागि आवेदन दिएका २६ हजार ८८८ विद्यार्थामध्ये २०८ जनाको आवेदन आवश्यक मापदण्ड पूरा नभएकाले अस्वीकृत गरिएको थियो।
परीक्षार्थीहरूले अनलाइन आवेदन गर्दा प्रयोग गरिएको प्रणालीबाट प्राप्त प्रवेशपत्र अनिवार्य रूपमा प्रिन्ट गरेर ल्याउनुपर्ने व्यवस्था गरिएको छ। महानगरले प्रवेशपत्र रंगीन हुनुपर्ने उल्लेख गरेको छ। साथै, परीक्षा केन्द्रमा प्रवेशपत्रसँगै फोटोसहितको आधिकारिक परिचयपत्र पनि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। एसईईको प्रवेशपत्र, विद्यालय परिचयपत्र वा नागरिकता प्रमाणपत्रलाई मान्यता दिइएको छ।
महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले २०८० सालदेखि प्रतिस्पर्धात्मक परीक्षा प्रणाली लागू गरेको हो। यस कार्यक्रममार्फत हालसम्म देशभरका करिब १५ हजार विद्यार्थी लाभान्वित भइसकेका छन्।
गत वर्ष आयोजित छात्रवृत्ति परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए। तीमध्ये १० हजार ८६७ जना उत्तीर्ण भए पनि करिब ४ हजार ५०० जनाले मात्रै छात्रवृत्ति प्राप्त गरेका थिए।
काठमाडौँ महानगरपालिकामा बालेन्द्र शाह मेयर रहँदा सुरु गरिएको यो छात्रवृत्ति कार्यक्रमलाई विद्यार्थीको उच्च शिक्षामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्