काठमाडौं । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै कांग्रेस नेतृत्वसमक्ष पाँच सार्वजनिक प्रश्न उठाएका छन्।
पन्ध्रौँ महाधिवेशनको तयारीका क्रममा आफूले क्रियाशील सदस्यता पहिले नै नवीकरण (अध्यावधिक) गरिसकेको अवस्थामा पुनः अध्यावधिक गर्न दबाब दिइनु अन्यायपूर्ण र अस्वीकार्य भएको उनको भनाइ छ। पार्टी कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति नभएको उल्लेख गर्दै उनले धम्की, लहड र मनपरीका आधारमा संगठन सञ्चालन गर्न नसकिने बताएका छन्।
शाहीले जारी गरेको प्रश्नावलीमा कांग्रेस नेतृत्वको नियतमाथि नै प्रश्न उठाउँदै सोधेका छन्—
पहिलो प्रश्न :
के जेठ २१ भित्र पुनः अध्यावधिक नगरेपछि डा. शेखर कोइराला, पूर्णबहादुर खड्का लगायत हजारौँ क्रियाशील सदस्यको सदस्यता खारेज गर्न खोजिएको हो?
दोस्रो प्रश्न :
के अध्यावधिकको नाममा अधिकांश सदस्यलाई प्रक्रियाबाट बाहिर राखी विशेष महाधिवेशनजस्तै परिस्थिति सिर्जना गरेर पार्टीमाथि एकलौटी नियन्त्रण कायम गर्ने प्रयास भइरहेको हो?
तेस्रो प्रश्न :
पहिले नै नवीकरण गरिसकेका सदस्यलाई समेत “अध्यावधिक नगरेको” बहाना बनाएर जेठ २१ पछि सदस्यता रद्द गर्ने र त्यसमार्फत पार्टी विभाजनतर्फ धकेल्ने षड्यन्त्र त भइरहेको छैन?
चौथो प्रश्न :
यदि सदस्यता नै रद्द गरिने हो भने, जेठ २१ पछि ती सदस्यहरू पार्टीबाहिर स्वतन्त्र नागरिकको हैसियतमा बस्नुपर्ने अवस्था सिर्जना गर्न खोजिएको हो?
पाँचौँ प्रश्न :
यदि सदस्यता खारेज गरिन्छ भने, सदस्यहरूले यसअघि नै बुझाएको नवीकरण शुल्क फिर्ता गरिनेछ कि पार्टीले त्यसलाई आफ्नै खातामा राख्नेछ?
शाहीले कांग्रेसभित्र लोकतान्त्रिक अभ्यास, पारदर्शिता र विधिसम्मत निर्णय प्रक्रियाको आवश्यकता औँल्याउँदै सदस्यहरूको अधिकारमाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्। उनले “जहाँ अन्याय हुन्छ, त्यहाँ प्रतिरोध स्वाभाविक हुन्छ” भन्दै नेतृत्वलाई सदस्यहरूको आशंका र प्रश्नको स्पष्ट जवाफ दिन आग्रह गरेका छन्।
उनको यो अभिव्यक्तिलाई कांग्रेसभित्र क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियालाई लिएर बढ्दो असन्तुष्टि र आन्तरिक बहसको संकेतका रूपमा हेरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्