काठमाडौँ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १८, सोमबार १०:१३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।


छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अंक प्राप्त गर्ने परीक्षार्थीहरूको प्रारम्भिक योग्यताक्रमसहितको नतिजा सार्वजनिक गरिएको हो। आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन भएको परीक्षामा २२ हजार २० जना विद्यार्थी सहभागी भएका थिए। उनीहरूले ८३ वटा परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए।


महानगरपालिकाले परीक्षा सम्पन्न भएको २४ घण्टाभित्रै नतिजा सार्वजनिक गरेको जनाएको छ। उक्त छात्रवृत्ति कार्यक्रम महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ मा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि सञ्चालन गरिएको हो।


नतिजा हेर्न विद्यार्थीहरूले अनलाइन आवेदन भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र मोबाइल वा इमेलमा प्राप्त पासवर्ड प्रयोग गरी स्कोरकार्ड हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको छ।


काठमाडौँ महानगरपालिकाले २०८० सालदेखि नीतिगत निर्णयमार्फत महानगर क्षेत्रभित्र कक्षा ११ र १२ सञ्चालन गर्ने निजी विद्यालयहरूमा छात्रवृत्ति प्रदान गर्न प्रवेश परीक्षा सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमबाट हालसम्म देशभरका करिब १५ हजार विद्यार्थी लाभान्वित भइसकेका छन्।


गत वर्ष सञ्चालन गरिएको छात्रवृत्ति प्रवेश परीक्षामा १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका थिए। त्यसमध्ये करिब ४ हजार ५ सय विद्यार्थीले मात्रै छात्रवृत्ति प्राप्त गरेका थिए। यस वर्ष भने छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी संख्या थप बढ्ने महानगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *