सर्वसम्मतिको प्रयासमै असहमति, बेलकोटगढी सभापति पन्तको चेतावनी— “विधि र पद्धतिविपरीत निर्णय मान्य हुँदैन”
विदुर, नुवाकोट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला अधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको विषयले पार्टीभित्र बहस र विवादलाई तीव्र बनाएको छ। जिल्लाका १२ वटै पालिकामा नयाँ नेतृत्व चयन भइसकेपछि अब जिल्ला नेतृत्व सर्वसम्मत रूपमा टुंग्याउने प्रयास भइरहेको भए पनि त्यसप्रति पार्टीभित्रै असन्तुष्टि सार्वजनिक हुन थालेको छ।
जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको तयारी भइरहेका बेला पार्टी स्थापना कालदेखि नै नुवाकोटमा संगठन निर्माण र नेतृत्व सम्हाल्दै आएका वर्तमान जिल्ला सभापति रामेश्वर गजुरेललाई पुनः जिल्ला सभापतिको जिम्मेवारी दिने गरी केन्द्रीय तथा जिल्ला तहका नेताहरूले पहल गरिरहेका छन्। तर उक्त प्रयासलाई लिएर पार्टीभित्र सर्वसम्मति कायम हुने सम्भावना भने क्रमशः कमजोर बन्दै गएको देखिएको छ।
रास्वपाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा बागमती प्रदेश सभापति डा. अच्चुतम लामिछानेसहित जिल्लाका अधिकांश पालिका सभापतिहरू गजुरेललाई नै सर्वसम्मत रूपमा जिल्ला सभापति बनाउने पक्षमा देखिएका छन्। यद्यपि बेलकोटगढी नगरपालिकाका नगरसभापति कृष्णप्रसाद पन्त (मनोहर)ले भने यस प्रक्रियाप्रति खुलेर असहमति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा पन्तले पार्टीको विधि, पद्धति र लोकतान्त्रिक अभ्यासलाई बेवास्ता गर्दै नेतृत्व चयन गर्न खोजिएको आरोप लगाएका छन्। उनले नेतृत्व चयनको नाममा एकलौटी निर्णय लाद्न खोजिए त्यसलाई स्वीकार नगर्ने स्पष्ट चेतावनी दिएका छन्।
नुवाकोट पुकारसँगको प्रतिक्रियामा पन्तले भने, “पार्टीको विधान र लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर गरिने कुनै पनि निर्णय स्वीकार्य हुँदैन। सत्य र विधिको पक्षमा बोल्दा कारबाही भोग्नुपरे पनि त्यसका लागि तयार छु।”
उनले बेलकोटगढी क्षेत्रले पार्टी निर्माणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै जिल्लाको नेतृत्व चयनमा सबै पक्षलाई सम्मानजनक रूपमा समेट्नुपर्ने धारणा व्यक्त गरे। “सबैलाई समेटेर जाने वातावरण बने मात्र सहमति सम्भव हुन्छ, अन्यथा जबरजस्ती सहमतिको प्रयास सफल हुँदैन,” उनले भने।
पन्तले बाह्य प्रभावमा नेतृत्व चयन गर्न खोजिएको संकेत गर्दै काठमाडौंबाट निर्देशनका आधारमा कसैलाई सभापति बनाउने प्रयास स्वीकार्य नहुने बताएका छन्। साथै, अन्य राजनीतिक दलबाट आएका व्यक्तिहरूले संगठनमा प्रभाव जमाउने प्रयास नगर्न पनि उनले चेतावनी दिएका छन्। पार्टीभित्रको असन्तुष्टि सम्बोधन नगरिए र यस्तै प्रवृत्ति दोहोरिए रास्वपा नुवाकोट कमजोर बन्न सक्ने उनको भनाइ छ।
जिल्ला सभापतिको दौडमा हालका सभापति रामेश्वर गजुरेल, दामोदर नेपाल र राजु प्रसाद लामिछाने आकांक्षीका रूपमा देखिएका छन्। यद्यपि पार्टीको केन्द्रीय नेतृत्वले गजुरेललाई नै पुनः नेतृत्वमा ल्याउन सकारात्मक संकेत दिएको स्रोतहरूको दाबी छ।
पार्टी स्रोतका अनुसार कठिन परिस्थितिमा समेत संगठनलाई सक्रिय राख्दै नुवाकोटमा रास्वपाको आधार विस्तार गर्न गजुरेलले महत्वपूर्ण भूमिका खेलेको निष्कर्ष निकाल्दै केन्द्रीय नेतृत्वले उनलाई सर्वसम्मत रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेको छ।
प्रतिनिधिसभा निर्वाचनमा नुवाकोटबाट उल्लेखनीय मत प्राप्त गरेपछि रास्वपाप्रति जिल्लामा आकर्षण र जनसमर्थन बढ्दो क्रममा छ। यही कारण आगामी जिल्ला अधिवेशनलाई संगठन विस्तार, नेतृत्व व्यवस्थापन र आन्तरिक एकताको महत्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ।
अब जिल्ला अधिवेशनअघि नेतृत्व चयन सहमतिमै टुंगिन्छ कि प्रतिस्पर्धात्मक निर्वाचनतर्फ जान्छ भन्ने विषयले रास्वपा नुवाकोटको भावी राजनीतिक दिशा निर्धारण गर्ने देखिएको छ। पार्टीभित्र देखिएको मतभेदलाई नेतृत्वले कसरी व्यवस्थापन गर्छ भन्ने प्रश्न अहिले चासोको केन्द्र बनेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्