सीमाना मिचिएको विषयमा प्रधानमन्त्रीसँग सार्वजनिक माफीको माग, संगठन सुदृढीकरणदेखि सामाजिक सुरक्षा र पर्यटन विकाससम्मका योजना अघि सारियो
रुपन्देही, जेठ २० – नेपाली कांग्रेसले प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै २८ बुँदे ‘लुम्बिनी संकल्प’ सार्वजनिक गरेको छ। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा रुपन्देहीको तिलोत्तमामा आयोजित लुम्बिनी प्रदेशस्तरीय परामर्श कार्यशालाले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हित विपरीत रहेको निष्कर्ष निकालेको हो।
संकल्प प्रस्तावको पहिलो बुँदामै कांग्रेसले संसद्को रोस्टममा उभिएर प्रधानमन्त्रीले दिएको “हामीले पनि धेरै ठाउँमा सीमाना मिचेका छौँ” भन्ने अभिव्यक्तिको घोर भर्त्सना गरेको छ। कांग्रेसले उक्त भनाइलाई गैरजिम्मेवार, राष्ट्रिय सार्वभौमिकतामाथि आँच पुर्याउने र कूटनीतिक रूपमा हानिकारक भएको उल्लेख गर्दै प्रधानमन्त्री, सरकार तथा सत्तारुढ दलसँग अविलम्ब सार्वजनिक स्पष्टीकरण र माफी माग्न आग्रह गरेको छ।
कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नेपाली भूमिमा भइरहेका विकास निर्माणका काममा अवरोध सिर्जना भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
कार्यशालाले पार्टी संगठनलाई आधार तहदेखि बलियो बनाउन ‘जरा अभियान’लाई तीव्रता दिने निर्णय गरेको छ। अभियानअन्तर्गत क्रियाशील सदस्यहरूको डिजिटल अभिलेख तयार गर्ने तथा संगठनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।
भेलाबाट पारित २८ बुँदे संकल्पमा गर्भावस्थादेखि जीवनको अन्तिम अवस्थासम्म राज्यको साथ रहने गरी एकीकृत सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहहरूलाई ‘शून्य बेरुजु’ बनाउने, योजना बैंकमार्फत मात्र योजना छनोट गर्ने, महिलाहरूलाई आत्मनिर्भर बनाउने ‘उद्यमी आमा’ कार्यक्रम सञ्चालन गर्ने तथा नागरिकका घरमै स्वास्थ्य सेवा पुर्याउने ‘घरदलान सेवा’ प्रभावकारी बनाउने विषय समेटिएका छन्।
त्यसैगरी जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्बासीहरूको सम्मानजनक व्यवस्थापन गरी ‘सुकुम्बासी समस्यामुक्त स्थानीय तह’ अभियान सञ्चालन गर्ने, ‘एक स्थानीय तह, एक विशिष्ट कृषि उत्पादन’ नीति लागू गर्ने तथा लुम्बिनीलाई केन्द्रमा राखेर बुद्ध सर्किट र धार्मिक पर्यटनको विकास गर्ने प्रतिबद्धता पनि संकल्पमा उल्लेख गरिएको छ।
नेपाली कांग्रेसले आफ्ना नेतृत्वमा रहेका स्थानीय सरकारहरूलाई थप सुशासनयुक्त, नागरिकमैत्री र परिणाममुखी बनाउन संकल्प जारी गरिएको जनाएको छ। कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा पार्टीका विभिन्न तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कांग्रेसले संघीय सरकारलाई संविधानको मर्म, विधिको शासन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न समेत आग्रह गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्