ललितपुर, जेठ २१ — नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादव लाई अनुशासन उल्लंघनसम्बन्धी अनुसन्धान नसकिएसम्म पदबाट निलम्बन गर्ने निर्णय गरेको छ।
समितिका संयोजक तारामान गुरुङ को अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्ने उजुरीमाथि स्पष्टीकरण माग गर्दा पनि यादवले निर्धारित समयभित्र कुनै जवाफ नदिएकाले थप अनुसन्धानका लागि उनलाई पदबाट निलम्बन गरिएको जनाएको छ।
यस्तै, सर्लाही क्षेत्र नं. २ का प्रदेशसभा सदस्यहरू सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल राय विरुद्ध पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोपमा परेको उजुरीबारे स्पष्टीकरण मागिएको थियो। उनीहरूले आरोप अस्वीकार गर्दै जवाफ दिएपछि समितिले उनीहरूलाई भविष्यमा पार्टी विधान र नियमावलीप्रति पूर्ण प्रतिबद्ध रही जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ।
त्यसैगरी, बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) ले पेश गरेको स्पष्टीकरण तथा थप अध्ययनपछि उनीमाथि लगाइएका आरोप पुष्टि नभएको निष्कर्ष निकाल्दै समितिले सफाइ दिएको छ।
समितिले निर्वाचनका क्रममा पार्टी अनुशासनसम्बन्धी उजुरीहरूमा अनुसन्धान र कारबाही प्रक्रिया निरन्तर जारी रहने जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्