जिल्ला अधिवेशनबीच रास्वपा सभापति रवि लामिछानेद्वारा पद र अवसरको मोह त्याग्न कार्यकर्तामा आह्वान

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २३, शनिबार १४:४७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अधिवेशन चलिरहेका बेला पार्टीका नेता तथा कार्यकर्तालाई लोकतान्त्रिक संस्कार, एकता र समर्पणलाई प्राथमिकता दिन आग्रह गरेका छन्।


पहिलो महाधिवेशनको प्रक्रियाअन्तर्गत वडा र पालिका तहका अधिवेशन सम्पन्न भइसकेको उल्लेख गर्दै उनले जिल्ला अधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको दीर्घकालीन जीवन, विधि–पद्धति र स्वस्थ राजनीतिक संस्कार निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताएका छन्।


उनले पार्टीको सर्वोपरि हितका लागि सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका छन्।


लामिछानेले तदर्थ जिम्मेवारीलाई स्थायी अधिकार ठानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’ को हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताएका छन्। पार्टी जिम्मेवारीलाई भविष्यको संसदीय अवसरसँग जोडेर नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई पनि अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।


उनले रास्वपा केही व्यक्तिको योगदानले मात्र नभई मतदाताको विवेक र सम्पूर्ण सदस्यहरूको समर्पणले यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब पार्टीको लक्ष्य वैकल्पिक शक्ति बन्ने मात्र नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको बताएका छन्।


संगठन विस्तारसँगै देखिने संकीर्ण सोच त्याग्न आग्रह गर्दै उनले अब ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुनुपर्ने बेला आएको बताएका छन्। साथै, रास्वपाको पहिलो महाधिवेशन प्रक्रिया सभ्य, भव्य, सुसंस्कृत र सन्देशमूलक बन्ने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *