काठमाडौं जिल्ला स्तरीय निबन्ध प्रतियोगितमा सरस्वती मावि प्रथम

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २३, शनिबार १८:२५

काठमाडौं, ज्ञानशाला अनुसन्धान केन्द्र नयाँ बजारको आयोजनामा काठमाडौं जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। शनिबार राजधानीकाे नयाँबजारस्थित सिए माध्यमिक विद्यालयमा आयाेजित कार्यक्रममा विद्यार्थीहरूको सिर्जनात्मक क्षमता विकास तथा उनीहरूमा रहेका अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले काठमाडौं जिल्लाभित्रका १९ विद्यालयको सहभागिता रहेको थियो।


प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थीहरू सहभागी भएका थिए। प्रत्येक विद्यालयबाट दुई जना विद्यार्थीलाई सहभागिता गराइएको आयोजकले जनाएका छन् । निबन्ध लेखनका लागि गोलाप्रथामार्फत तीनवटा शीर्षक छनोट गरिएको थियो। शीर्षकहरूमा “वातावरण संरक्षणमा विद्यार्थीको भूमिका”, “वातावरण संरक्षण दिगो विकासको मुख्य आधार” तथा “नेपालीको सन्दर्भमा वातावरण संरक्षण” रहेका थिए।


प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय, क्षेत्रपाटी प्रथम, अमृत सेकेन्डरी स्कूल, म्हेपी द्वितीय तथा हिमरश्मि विद्यालय तृतीय भएका छन्। त्यसैगरी ग्रिनफिल्ड विद्यालय र रिड मोडल विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।


पुरस्कारस्वरूप प्रथम हुनेलाई ६ हजार रुपैयाँ र सम्मानपत्र, द्वितीय हुनेलाई ४ हजार रुपैयाँ र सम्मानपत्र तथा तृतीय हुनेलाई ३ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो। साथै सान्त्वना स्थान हासिल गर्ने दुई जनालाई जनही १ हजार ५ सय रुपैयाँका दरले नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।


ज्ञानशाला अनुसन्धान केन्द्रका अध्यक्ष भोला ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ललिता गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।


कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बालबालिकाको सिर्जनात्मक क्षमता विकास गर्नुका साथै विद्यार्थीभित्र रहेका अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले केन्द्रले यस्ता कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको बताउनुभयो। उहाँले गत वर्ष पनि यस्तै प्रकृतिको कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको जानकारी दिनुभयो । प्रतियोगिताकाे निर्णायक मण्डलमा शंकर अर्याल र सिताराम ढकाल रहनु भएको थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *