कांग्रेसमा ‘भस्मासुर प्रवृत्ति’ हावी भएको आरोप, समयमै महाधिवेशन गर्न काफ्लेको माग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २४, आईतवार १४:२७

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य कुन्दन राज काफ्लेले पार्टीभित्र ‘भस्मासुर प्रवृत्ति’ हावी भएको आरोप लगाउँदै वर्तमान नेतृत्वले कांग्रेसलाई कमजोर बनाउने काम गरिरहेको बताएका छन्।


काफ्लेले आइतबार जारी गरेको वक्तव्यमा विशेष अधिवेशनबाट आएको नेतृत्वले पार्टीको नियमित महाधिवेशन रोक्न र आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउन विभिन्न गतिविधि गरिरहेको दाबी गरेका छन्। उनले क्रियाशील सदस्यता अद्यावधिकको विषयलाई अनावश्यक रूपमा विवादित बनाइएको आरोप लगाउँदै यसले इमानदार कार्यकर्तामाझ भ्रम, त्रास र अन्योल सिर्जना गरेको बताएका छन्।


उनका अनुसार सदस्यता अद्यावधिक पार्टीका सदस्यहरूको अभिलेख व्यवस्थित गर्ने नियमित प्रक्रिया मात्र भए पनि यसलाई कार्यकर्तामाथि दबाब सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गरिएको छ। उनले यस प्रकारका गतिविधिको मुख्य उद्देश्य नियमित १५औँ महाधिवेशनलाई प्रभावित पार्नु रहेको आरोप लगाए।


काफ्लेले वर्तमान नेतृत्वले आन्तरिक लोकतन्त्रको भावना कमजोर बनाएको, प्रतिस्पर्धाको संस्कृतिलाई निषेध गरेको तथा तल्लो तहका कार्यकर्तामाथि विभेदपूर्ण व्यवहार गरेको टिप्पणी गरेका छन्। “नेता वर्गलाई अद्यावधि गर्न नपर्ने तर तल्लो तहका कार्यकर्ताले अनिवार्य अद्यावधि गर्नुपर्ने व्यवस्था स्वीकार्य हुन सक्दैन,” उनले भनेका छन्।


वक्तव्यमा उनले पार्टी नेतृत्वमाथि आफ्ना कमजोरीको जिम्मेवारी अरूमाथि थोपर्ने प्रवृत्ति देखिएको आरोपसमेत लगाएका छन्। पार्टीलाई पुनर्जीवित गर्न समयमै महाधिवेशन सम्पन्न गरी कार्यकर्ताप्रति जवाफदेही, निष्ठावान र सिद्धान्तनिष्ठ नेतृत्व चयन गर्न आवश्यक रहेको उनको भनाइ छ।


काफ्लेले देशभरका कांग्रेस कार्यकर्तालाई पार्टीको लोकतान्त्रिक मूल्य–मान्यता जोगाउन एकजुट हुन आह्वान गर्दै महाधिवेशन टार्ने प्रवृत्तिविरुद्ध संगठित संघर्ष गर्नुपर्ने बताएका छन्। साथै उनले नेपाली कांग्रेसलाई “भस्मासुर नेतृत्व”बाट मुक्त गरी संगठनलाई सुदृढ बनाउने अभियानमा लाग्न आग्रह गरेका छन्।


उनले वक्तव्यको अन्त्यमा “जय नेपाल” भन्दै कांग्रेसको पुनर्निर्माण र सुदृढीकरणका लागि सबै कार्यकर्तालाई सक्रिय हुन आह्वान गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *