विदुर ।नुवाकोटको बट्टारमा सम्पन्न आठौँ अन्तरविद्यालय खुला लोकनृत्य प्रतियोगितामा समूहगततर्फ अर्किड एकेडेमी प्रथम भएको छ । यस्तै एकलतर्फ ओममाने पब्लिक स्कुलकी पूर्णिका लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकी छन्।
सुन्दरादेवी सन्देश साप्ताहिकको मुख्य आयोजना तथा शुभेनियर बोर्डिङ स्कुलको सह–आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा जिल्लाभरका विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमका संयोजक किरणप्रसाद अधिकारीका अनुसार विदुर–४, बट्टारस्थित अर्किड एकेडेमीका विद्यार्थीहरूले आकर्षक लोकनृत्य प्रस्तुति मार्फत समूहगत प्रतियोगिताको उपाधि जित्दै नगद रु. १५ हजारसहित प्रशंसापत्र प्राप्त गरेका हुन्।
समूहगततर्फ त्रिशूली सामुदायिक बोर्डिङ स्कुल दोस्रो हुँदै नगद रु. १० हजार, दिव्यरत्न बोर्डिङ स्कुल तेस्रो हुँदै रु. ५ हजार तथा इपिक किड्सले सान्त्वना स्थान हासिल गर्दै रु. २ हजार ५०० नगदसहित प्रशंसापत्र प्राप्त गरेका छन्।
एकल प्रतियोगितामा ओममाने पब्लिक स्कुलकी पूर्णिका लामिछाने प्रथम, ज्योतीकुञ्ज एकेडेमीकी रियाना डंगोल दोस्रो, गुडविल एकेडेमीकी सोफिया सुनार तेस्रो तथा ज्योतीकुञ्ज एकेडेमीकी शुभेच्छा धिताल सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्। विजेताहरूलाई क्रमशः रु. ११ हजार १११, रु. ६ हजार ६६६, रु. ३ हजार ३३३ र रु. १ हजार ५०० नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो।
कार्यक्रममा यस वर्षको एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेका नुवाकोटका ११ जना विद्यार्थीलाई सम्मान गरिएको थियो। साथै शिक्षा, सञ्चार, स्वास्थ्य, व्यवसाय तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मानपत्रसहित सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ संगीतकार राजु सिंहले विद्यालय र सञ्चारमाध्यमबीचको सहकार्यबाट यस्ता सिर्जनात्मक कार्यक्रम आयोजना हुनु कला, संस्कृति तथा प्रतिभा विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।
प्रतियोगिताले विद्यार्थीहरूमा रहेको प्रतिभा उजागर गर्नुका साथै नेपाली लोककला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूको उत्साहजनक प्रस्तुति र दर्शकहरूको उल्लेखनीय उपस्थितिले प्रतियोगितालाई थप भव्य र सफल बनाएको थियो।


नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्